भागिरथीका हत्यारालाई कडा कारबाही गर्छौंः गृहमन्त्री बादल

भागिरथीका हत्यारालाई कडा कारबाही गर्छौंः गृहमन्त्री बादल


काठमाण्डु – बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागिरथी भट्टका हत्यारालाईँ कडा कारबाही गर्न महिला सांसदहरुले माग गरेका छन् ।

सोमबार बिहान विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका महिला सांसदहरुले गृहमन्त्री बादललाई भेटेर बलात्कारीलाई कारबाहीको माग गर्दै परिवतारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन् ।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल, पार्वती रावल, उदया शर्मा र विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले गृहमन्त्री बादललाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

‘गृहमन्त्रीलाई भेटी हत्यारालाई पत्ता लगाइ कडा सजाय दिन, परिवारलाई राहत र क्षतिपूर्तिको ब्यवस्था गर्न र यस्ता घटना पुनः नदोहोरियोस भनी सुरक्षालाई अझ चुस्त बनाउन गम्भीर ध्यानाकर्षण गराएका छौ’, सांसद बिमला राईले भनिन् ।

जवाफमा गृहमन्त्री बादलले अनुसन्धानमा कुनै पनि कमि नरहने र दोषी चाँडै पत्ता लगाएर कडा कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै उनले पिडित परिवारलाई राहतको तत्काल ब्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको सांसद राईले जानकारी दिइन् ।

यहि माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिकाकी किशोरी भागिरथी भट्टको बलात्कार पछि हत्या भएको थियो ।