काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी भागिरथी भट्टका हत्यारा नजिक पुगेको बताएका छन् ।
मंगलबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुलाई मन्त्री बादलले घटनालाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रहरी अपराधी नजिक पुगेको बताएका हुन् ।
कानुन व्यवसायीहरुले निर्मला पन्तको घटनाको जस्तो कमजोर अनुसन्धान नगर्न पनि ध्यानाकर्षण गराए । जवाफमा गृहमन्त्री बादलले भागिरथीको घटना निर्मलाको जस्तो जटिल नभएकाले चाँडै अपराधी सार्वजनिक गर्ने बताए ।
‘भागिरथीको केस निर्मला पन्तको जस्तो जटिल छैन् । हामी अपराधी नजिक पुगिसक्यौं । चाँडै सार्वजनिक गर्छौं’, उनले भने ।
पदाधिकारीहरुले भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी काननी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।
त्यस्तै बालबालिका तथा महिलाहरुमाथि भैरहेको श्रृंखलावद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानुनी कारबाही भित्र ल्यउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापरबाही गरिरहेको पुष्टि भएकोसमेत महिला कानुन व्यवसायीहरुले बताए ।




प्रतिक्रिया