जनयुद्धका दुई सहकर्मी कमाण्डरः प्रतिबन्धपछि पहिलोपटक आमने-सामने हुँदै

जनयुद्धका दुई सहकर्मी कमाण्डरः प्रतिबन्धपछि पहिलोपटक आमने-सामने हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना पूर्वसहकर्मीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने जिम्मेवारी पाएका छन् । १० वर्ष सहकर्मी भएर जनयुद्ध लडेका बादल संयोगले सरकारमा छन् भने विप्लव भूमिगत जीवन बिताइरहेका छन् ।

२०७५ फागुन २९ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारले घोषणा गर्‍यो । बादल सरकारमा रहेको अवस्थामा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लागेकाे थियाे । आफ्नै सहकर्मीमाथि प्रतिबन्ध लगाउने बादलसँग विप्लव रूष्ट बने । तर,  एकपछि अर्को हिँसात्मक गतिविधि गरेपछि विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउन  सरकारमाथि पनि निरन्तर दबाब परेकाे थियो ।

यसपटक भने गृहमन्त्री बादललाई प्रतिबन्ध फुकुवा गर्ने मौका मिलेको छ । सरकारले मंगलबार गठन गरेको वार्ता टोलीमा बादलसहित प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् । विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली गठन गरेको छ । नेकपाले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेका छ । सदस्यमा उदय चलाउने ‘दीपक’ सदस्य रहेका छन् ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री र विप्लवका पूर्वसहकर्मी भएका नाताले बादललाई वार्ताको जिम्मेवारी दिएका हुन् । सरकारले प्रतिबन्ध फुकुवा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्नुपर्ने माग विप्लवको छ । प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाका माग पूरा गरेर शान्तिपूर्ण राजनीतिमा फर्काउने तयारी गरेका छन् । त्यस्तै प्रतिबन्धपछि भूमिगत जिवन बिताइरहेका विप्लव पनि सार्वजनिक हुने तयारीमा छन् ।

१० वर्षे जनयुद्धसँगै लडेर आएका बादल र विप्लव प्रतिबन्ध फकुवापछि पहिलो पटक आमने-सामने हुँदैछन् । वार्ता सफल भएको खण्डमा प्रतिबन्धपछि पहिलोपटक गृहमन्त्री बादल र महासचिव विप्लव आमने–सामने हुन लागेका हुन् । प्रधानमन्त्री अ‍ोलीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर विप्लवसँग सहकार्य गर्ने मनस्थिति बनाएका छन् । ओली समूहमा रहेका बादल विप्लवसँग सहकार्य भएको खण्डमा प्रतिबन्धले चिसिएकाे जनयुद्धको मित्रता पुनः प्रगाढ हुने सम्भावना देखिन्छ ।

राजनीतिक यात्रा

वि.सं २०३७ साल देखि राजनीति प्रवेश गरेका बादल ४४ सालमा वाग्मती अञ्चलको इन्चार्ज र त्यसकाे दश वर्ष पछि तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धमा होमिए ।

बादल जनयुद्धको तयारीमा रोल्पा गए र युद्धको नेतृत्व समेत ग्रहण गरे । लामो समय रोल्पा बसेर सशस्त्र युद्धकाे नेतृत्व गरेका उनले जनयुद्धमा फौजी योजना बनाइ प्रहरी चौकी, सैनिक ब्यारेक तथा जिल्ला सदरमुकाम आक्रमणको योजना बुन्थे ।

दश वर्षभन्दा लामो युद्ध अन्त्य गरेर माओवादी शान्ति प्रक्रियामा आएपछि, भएको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा उनी रक्षामन्त्री बने । नेकपा माओवादीको विघटन पश्चात्, उनी मोहन वैद्य पक्षमा आवद्ध भएका थिए र पछि, त्यस समूहका महासचिव बने ।

वैद्य समूहबाट केही सहयोगीहरू लिएर फेरि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएका उनी २०७४ मा वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भए । बादल २०७४ को निर्वाचन ३ हजार ३ सय ९६ मत ल्याउँदै राष्ट्रियसभाको सदस्यको रूपमा विजयी भएका थिए । उनी २०७४ फाल्गुन १४ गते पूर्वमाओवादीको कोटाबाट गृहमन्त्री बनेका थिए । अहिले उनी केपी ओलीले नेतृत्व गरेको नेकपामा छन् ।

२०३९ सालमा अखिल छैठौँ नामक विद्यार्थी सङ्गठनबाट राजनीति यात्रा सुरु गरेका विप्लव माओवादी जनयुद्ध सुरु हुँदा विद्यार्थी सङ्गठनको उपाध्यक्ष थिए ।

जनयुद्धलाई प्रत्यक्ष रूपमा समर्थन गरेका विप्लवले युद्धका लागि हातहतियार सङ्कलनसमेत गरे । तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्वको थालनी गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सचिवको जिम्मेवारी बहन गरेका थिए । २०५४ सालमा, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनेका विप्लवले त्यस उता आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगे ।

माओवादीले २०५५ सालको भदौमा गरेको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बने भने २०५९ सालमा माओवादीका नीति निर्माता समितिको सदस्य बने । २०६१ सालमा रोल्पा, रूकुम आधार क्षेत्रको ब्युरो इन्चार्ज बनेका विप्लव कर्णाली क्षेत्रको जिम्मेवारी बहन गरेको समयमा विभिन्न तरिकाहरूबाट प्रहरीहरूको हातहतियार लुट्न सफल भएका थिए ।

हातहतियार लुट्ने कामबाट सफलता प्राप्त गरेका उनलाई कामलाई पार्टी भित्र प्रशंसा गरिएको थियो भने उनी प्रचण्डका विश्वासका पात्र बने । कालीकोटको पदमघाट प्रहरी चौकीका आक्रमण गर्दै १३ प्रहरीको राइफल खोसेको घटना सार्वजनिक भएसँगै उनी पार्टीभित्र चर्चित हुँदै गएका थिए ।

जनयुद्धको ५ मङ्सिर २०६३ मा सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौता पश्चात् पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईसँग उनको सम्बन्ध बिग्रियो । विस्तृत शान्ति सम्झौता गर्नु अघि आफूहरूसँग कुनैपनि छलफल नगरेको भन्दै विप्लव प्रचण्डसँग रूष्ट बने ।

विसं २०६९ असारमा तात्कालिक समयमा प्रचण्डले नेतृत्व गरेका एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी नामक पार्टीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए । वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी पनि ‘क्रान्तिकारी हुन नसकेको’ भन्दै विसं २०७१ मङ्सिरमा उनले दल टुक्राउने घोषणा गरे ।

दलको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखे । जसलाई विप्लव नेकपा भनेर पनि चिनिन्छ ।