काठमाण्डु – गृहमन्त्री रामबहादुर बादललाई बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेद्वारमा उठाउन नहुने विषयमा छलफल सुरु भएको छ ।
बिहीबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले बादललाई उपनिर्वाचनमा पराजित हुने अवस्थामा उम्मेद्वार बनाउन नहुने बताएका छन् ।
बैठकको सुरुवातमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले बादल नै राष्ट्रियसभा सदस्यको उम्मेद्वार भएको प्रस्ताव राखेका थिए । तर, बैठकमा उपस्थित बहुमत स्थायी कमिटी सदस्यहरुले बादल नेकपा एमालेको नेता भएका कारण विपक्षीले संयुक्त उम्मेद्वार खडा गरेकाले बादलको ठाउँमा अर्को उम्मेद्वारलाई उठाउनुपर्ने बताएका थिए ।
चार दलले गठबन्धन गरेको अवस्थामा बादललाई उठाएर रिस्क लिन नहुने उनीहरुको भनाई थियो । आजको बैठकमा बादललाई रामनारायण बिँडारीको ठाउँमा ल्याउनुपर्ने विषयमासमेत छलफल भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बिँडारी राष्ट्रपतिबाट मनोनित सदस्य हुन् । संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम राष्ट्रिय सभा सदस्यमा तीन जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
एमालेकै माधव नेपाल समूहसहित नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त उम्मेद्वार खडा गरेका छन् । उनीहरुले नेपाल समूहका नेता डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाएका छन् । नेपाल समूहले बादललाई सर्पोट नगर्ने बताइसकेको छ ।
राष्ट्रियसभा तर्फको वागमती प्रदेशको उपनिर्वाचन जेठ ६ गते गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।




प्रतिक्रिया