चोलेन्द्रलाई रामचन्द्र पौडेलको जवाफः जति छिटो छोड्नुहुन्छ, त्यति सम्मानजनक हुन्छ

चोलेन्द्रलाई रामचन्द्र पौडेलको जवाफः जति छिटो छोड्नुहुन्छ, त्यति सम्मानजनक हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाब दिएका छन् । प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिए मात्रै सम्मानजनक बहिर्गमन हुने उनले स्पष्ट पारे ।

मंगलबार बिहान हेटौँडामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले आयोजना गरेको एक कार्यक्रममा उनले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बहिर्गमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने धारणा राखे । ढिलाइ गर्दै गए उनको बहिर्गमन अपमानजनक हुने पौडेलको भनाइ थियो ।

उनले प्रधानन्यायाधीशसँग ‘सेटिङ’ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको आरोप समेत लगाए ।

‘अरू संस्था त ध्वस्त भए भए, देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हाल भइरहेको छ । अब अहिले प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नुभयो– ल ल म छोडन त छोडछु, तर मलाई सम्मानजनक बहिर्गमनका लागि मौका दिनुस् । मैले त हिजो भन्दिएँ– जति छिटो छोड्नुहुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोड्नुहुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईंको,’ वरिष्ठ नेता पौडेलले भने, ‘किनभने, एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन् । सेटिङ गर्नुभएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित । प्रधानन्यायाधीशसँग सेटिङ गर्ने । संवैधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान । आज सर्वोच्च अदालतको के हालत भइरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?’

जनताको न्यायको अन्तिम मन्दिरको रूपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने धारणा राखे । त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यकता भएको उनको तर्क थियो ।