काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा नजाने घोषणाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले असन्तुष्टि व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीको केन्द्रीय कमिटिको बैठकमा संसद पुनर्स्थापनाको माग गर्दै २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार बौद्धिक समुदायका ११ जना अगुवाहरूसँग भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले ओलीको उक्त घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बौद्धिक समुदायका अगुवाहरूसँग एमालेको भूमिकाबारे पनि राष्ट्रपतिले छलफल गरेका थिए ।
छलफलमा सहभागि एक अगुवाका अनुसार राष्ट्रपतिलेएमालेको निर्णयबाट असन्तुष्टि जनाएका हुन् ।
एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी आफूहरूलाई दिइएको पनि उनले बताए ।
राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए ।
छलफलमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन बौद्धिक समुदायका अगुवाहरूलाई आग्रह गरे ।
छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गरेका छन् ।
‘दलहरूलाई चुनावमा जानका लागि भूमिका निर्वाह गरिदिनुस् भन्नुभयो,’ छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले भने, ‘सरकारलाई निर्वाचन गर्न, जनता र जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गर्नुस् भन्ने कुरा गर्नुभयो ।’
छलफलमा राष्ट्रपति पौडेलमा निर्धारित समयभित्रै प्रतिनिधि सभाको निर्वाचन नभए थप संवैधानिक र राजनीतिक संकट आउने चिन्ता देखिएको पनि वाग्लले बताए ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, राजनीतिक विश्लेषकहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेल राष्ट्रपछिसँग छलफल गरेका थिए ।




प्रतिक्रिया