राष्ट्रपति पौडेल आज जापान जाँदै

राष्ट्रपति पौडेल आज जापान जाँदै


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि चार दिने जापानको औपचारिक भ्रमण गर्दैछन् ।

नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण सम्पन्न गरी उनी माघ २१ गते दिउँसो स्वदेश फर्कने कार्यक्रम छ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन्।

उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ। यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने छन्।

यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुने छन्।

नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो। १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।

जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ।

यसअघि जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गरेका थिए। यस्तै, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता सङ्गठनको ५७औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गरेका थिए।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गरेका थिए।

यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९ देखि १० सम्म नेपालको भ्रमण गरेका थिए। तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गरेका थिए।