काठमाण्डु – नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएकी नेत्री रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताएकी छन् ।
सोमबार एमालेको घर फर्क राष्ट्रिय अभियानमार्फत एमालेमा फर्किंदै झाँक्रीले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मात्र होइन, राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको बताइन् ।
‘नेकपा एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो,’ झाँक्रीले भनिन् ।
झाँक्रीले जेनजी आन्दोलनको नाममा भएको आन्दोलन सरकार र एमालेविरुद्ध सुनियोजित षड्यन्त्र भएको बताइन् । जेनजी आन्दोलनको रोटी सेकाएर सबै शक्ति एमालेविरुद्ध लागेका उनको धारणा छ । ‘आज जेनजी आन्दोलन भर्सेज नेकपा एमाले उभिएको छ,’ उनले भनिन् ।
एमालेको नर्सरीमा हुर्किएका सबै मानिसहरू आजको राष्ट्रको जिम्मेवारी पूरा गर्नका लागि एकठाउँमा उभिनुपर्नेमा उनले जोड दिइन् । ‘जेनजी आन्दोलनको स्वामित्व खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र संसद् जलेको कुरालाई कसरी जस्टिफाई गर्न सक्छन् ? ज्युँदै मान्छे जलाउँदा ठीक गरे भन्नेहरूविरुद्ध आज एमाले उभिएको छ,’ उनले भनिन् ।
जेनजी आन्दोलनको नाममा पीडित भएकाहरूले आज नेकपा एमालेलाई खोजिरहेका उनले बताइन् । नेकपा एमालेका केही नेताहरू बाहिर निस्किएर सुरक्षामा उभिएपछि मानिसहरू बाहिर निस्किन लागेको उनको भनाइ छ । ‘आज नेकपा एमाले नै जनताको रक्षक शक्ति हो, यो आजको वास्तविकता हो, यो वास्तविकताबाट हामी भाग्न सक्दैनौं,’ उनले भनिन् ।
उनले जेनजी युवाहरूलाई एमालेमा आउन र आह्वान गरिन् । एमालेले सबैलाई पार्टी प्रवेशमा चारैतिरका ढोका खुला गरेको अनुभूत गरेको उनले बताइन् । ‘हामीले पार्टीमा पुर्याएको क्षतिलाई पनि पूरा गर्ने गरी पिठ्युँ थापेर लाग्नेछौं,’ उनले भनिन् ।
उनले माधव नेपालको पछि लागेर केही नहुने बताउँदै सबैलाई मूलप्रवाहमा फर्किन आग्रह गरिन् । गति समान नभएको यात्रामा नहिँड्न र नअल्मलिन उनले आह्वान गरिन् ।




प्रतिक्रिया