काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले रामकुमारी झाँक्री पक्राउको विषयमा विरोध गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले सामाजिक सञ्जालमार्फत झाँक्रीको पक्राउको चर्को विरोध गरेका हुन् । नेता जनार्दन शर्माले झाक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र नभई देशलाई मुडभेटमा लगेको बताए ।
‘रामकुमारी झाक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थपूर्ती गर्ने षड्यन्त्र हो’, उनले भनेका छन् ।
त्यस्तै नेतृ पम्फा भुसालले निर्मला पन्त र भागिरथी भट्टका हत्यारालाई पक्राउ गर्न सरकारलाई चुनौती दिएकी छन् ।
‘प्रतिगामी सरकार रामकुमारी झाक्रीलाई होईन निर्मला पन्त , भागीरथी भट्ट लगाएतका बलात्कारीलाई गिरफ्तार गर । प्रतिगामी सरकार मुर्दाबाद’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
त्यस्तै नेता विष्णु रिजालले गणतन्त्रका लागि रगत बगाउने झॉक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार गरेको भन्दै आफूले बसालेको नजीर आफैंमाथि भारी बन्न सक्ने चेतावनी दिएका छन् ।
‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन । ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा–लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन । आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झॉक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस्– आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्’, उनले भनेका छन् ।




प्रतिक्रिया