एनिभर्सरीकै दिन रामकुमारीको जेल यात्राः सोचे जस्तो हुन्न जीवन !

एनिभर्सरीकै दिन रामकुमारीको जेल यात्राः सोचे जस्तो हुन्न जीवन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले बिहीबार बिहान करिब ७ बजे विवाह बन्धनमा बाँधिएको ११ वर्ष पुगेको अवसरमा श्रीमानसँग शुभकामना साट्दै सामाजिक सञ्जालमा लेखिन्, ‘आज माघ २९ । सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ । तिमी आयौं जिन्दगीमा यसै आहा छ ! हाम्रो वैवाहिक जीवनको ११ वर्षको यात्रामा प्रिय श्रीमानलाई हेप्पी एनिभर्सरी ।’ त्यसको केही समयपछि महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापले फोन गरेर कार्यालयमा उपस्थित हुने आग्रह गरे । तर, १० बजेसम्म पनि उनले प्रहरी कार्यालय जाने छनक देखाइनन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी झाँक्रीले पक्राउ पूर्जी लिएर आए आफू जाने अडान लिइन् । भित्र उनी छोरालाई अनलाइन क्लास पढाइरहेकी थिइन् । उनका छोरा आरभले बाहिर किन प्रहरी आयो ? भनेर सोधेका थिए ।

जवाफमा उनले ‘नेता बुवाले गर्दा भएको हो’ बताइन् । उनका छोरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेता बुवा भनेर चिन्दथे । प्रधानमन्त्री अ‍ोलीले छोरालाई भलिबल पठाएका थिए । छोराको मनस्थितिमा असर गर्ला भनेर उनले आफूलाई केही नहुने बताइन् । सादा पोशाकमा शंखमुलस्थित निवासमा पुगेका प्रहरीले आफूहरुसँगै कार्यालय जान आग्रह गरे । तर, पनि उनले पक्राउ पूर्जी लिएर आउन भनिन् । त्यतिञ्जेलसम्म बाहिर गेटअगाडि समर्थक र प्रहरीहरुको बाँक्लो उपस्थिति थियो । समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी गरिरहेका थिए ।

पक्राउ गर्न गएको प्रहरीलाई गेटबाट भित्र जान रोकियो । झाँक्रीले पक्राउ पूर्जी ल्याए मात्र आफू जाने अडान लिएपछि प्रहरीले उनलाई पक्राउ पूर्जी थमायो । त्यसपछि बाहिर रहेका आफ्ना समर्थकहरुलाई उनले प्रहरीले माइकबाट सम्बोधन गरिन् ।

‘राष्ट्रपतिको निर्वाचन क्षेत्रसँग जोडिएको विषय अस्मितासँग कसरी जोडिन्छ ?,’ झाँक्रीले भनिन् । सम्बोधन गरेपछि उनलाई प्रहरीले आफ्नै भेनमा हालेर अपराध महाशाखामा राखेको छ ।

११ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएकी झाँक्री एनिभर्सरीकै दिन पक्राउ पर्नुलाई संयोग मानिएको छ । आजको दिन उनका लागि सम्झन लायक दिन बनेको छ । उनले ११ वर्षअगाडि पशुपति पुरीसँग प्रेम विवाह गरेकी थिइन् । पशुपति भौतिक तथा पूर्वाधार मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत छन् भने झाँक्री राष्ट्रिय राजनीतिमा सक्रिय छिन् । हाल उनीहरुका एक जना छोरा छन् ।

उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको छ । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी हुन् । मुलुकी अपराध संहिताको दफा ५८ ले राष्ट्रपति र संसदलाई कुनै किसिमको दबाव दिएमा ७ वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ ।

उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई (संघिय तथा प्रादेशिक) संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।’

पक्राउ पर्नु र माघ २९ गते एनिभर्सरी हुनु झाँक्रीका लागि दुःखद् संयोग नै मान्नुपर्छ ।