काठमाण्डु — नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छिन् ।
आज ट्वीटरमार्फत नेतृ झाँक्रीले सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी हुन् ।
उनले ट्वीटरमा लेखेकी छन्, ‘हामीले ७६(५) को प्रधानमन्त्रीको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौं । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौं । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ, नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं ।’
नेतृ झाँक्रीले त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई सांसदको पूरा कार्यकाल सञ्चालन गर्न आफुहरु सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आग्रह गरेकी छन् ।
उनले लेखेकी छन्, ‘त्यसो गर्न सकिदैन भने सांसदहरूलाई सांसदको पुरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं । त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं ।’




प्रतिक्रिया