काठमाण्डु – वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद फोबिया भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार संवैधानिक जलासमा रिट निवेदकको तर्फबाट बहस गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता बिडारीले प्रधानमन्त्री अोलीलाई संसददेखी डराउने रोग लागेको बताएका हुन् ।
उनले भने, ‘हामीले कस्तो प्रधानमन्त्री बनाइएको रहेछ, जो संसदसँग तर्सिरहन्छन् । हाम्रो प्रधानमन्त्रीलाई पार्लियामेन्ट फोबिया भएको छ । प्रतिनिधससभा विघटन त गर्नुभो गर्नुभो, राष्ट्रिय सभा पनि तीन दिनमै स्थगित गर्दिनु भो ।’’
उनले आफ्नो देशको सर्वोच्च संविधान नमान्ने अनि अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने ? भन्दै आक्रोश व्यक्त गरेका छन् । अधिवक्ता बिडारीले संविधानका सबै धारा समान रहेको बताउँदै कुनै पनि धारा देखाउनका लागि नराखिएको बताए । अधिवक्ता बिडारीले नेकपाको हिसाबकिताब सर्वोच्च अदालतमा गरेर नहुने भन्दै संसदमै गर्नुपर्ने बताएका छन् ।
‘नेकपाको यति छ, उति छ भनेर इजलासमा क्याल्कुलेसन गरेर हुँदैन । संसदमै गनिन्छ’, उनले भने, ‘संसद् नै विघटन गरिदिएपछि विकल्प नै छैन भन्ने ? रुख काट्ने अनि फूल फूल्या खै ? फल लाग्या खै ? भनेर हुन्छ ।’
त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई ‘हुतिहारा’ भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सचेत गराएका छन् । उनले अपशब्द प्रयोग नगर्न भन्दै सचेत गराएका हुन् ।
बिडारीले ‘सौताको रिसले पोइको काख फोहोर गर्ने’ उखान प्रधानमन्त्रीतर्फ संकेत गर्दै प्रयोग गरेपछि प्रधानन्यायाधीश जबराले इजलासमा यस्ता शब्द प्रयोग नगर्न आग्रह गरेका हुन् ।
‘वरिष्ठ ज्यू ! यस्ता अपशब्दहरु यहाँ प्रयोग नगर्नुस्, आफ्नो बहस छोट्याउनुस्’, राणाले भने ।




प्रतिक्रिया