काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण बिडारीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले जथाभावी पास दिँदा कोरोना भाइरसको संक्रमण फैलिएको ओारप लगाएका छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिडारीले सिडिओले तास खेल्दा र रक्सी खाँदाका साथीहरुलाई पास दिएर कोरोना भाइरसको संक्रमण फैलिएको आरोप लगाए ।
‘अहिले त रद्द भयो क्यारे, सीडीओ सापले पास दिएछन्, कोरोना फैलिनुमा सीडीओ दोषी छ । तास खेल्दाको साथी, रक्सी खाँदाको साथी जम्मैलाई पास दिए । अनि टोलका दुई चार हजार भएका गुण्डा समेत पास लिएर गाडिमा हिँड्ने, जनतालाई आक्रान्त पार्ने । अहिले पनि गृह मन्त्रालयको ध्यान जाओस् ।’ उनले भने ।
बिडारीले एकहजार गाडी नियन्त्रणमा लिएर किसानका तरकारी फलफूल सर्लक्क उठाएर बजार ल्याएर बेच्ने प्रबन्धका लागि सरकारसँग आग्रह गरे ।
‘सरकारले हजारवटा गाडी भाडामा लिएर गाउँमा किसानका तरकारी खरिद गर्ने र उनीहरूलाई मल पुर्याउने व्यवस्था गरोस्, किसानको सामान शहरमा ल्याएर बेच्ने काम गरोस् । उता दूध पोख्नु पर्ने, चल्ला मार्नुपर्ने, यता शहरमा कोरोना मिसिएको भारतीय चिजविज खानु पर्ने’ बिडारीले भने, ‘यति गर्दा भारतीय सामान नेपालमा आउन रोकिन्छ । आयात घटन सक्छ हामी आत्मनिर्भर बन्छौं । यति काम गर्न सरकारले सक्दैन ?’
त्यस्तै उनले सीमा अतिक्रमणको विषयमा नेपाल र भारतका पूर्व शासकहरुको गल्तीका कारण अहिलेको पुस्तालाई अफ्ठेरो परेको बताएका छन् । उनले सीमाका विषयमा जथाभावी नबोल्न आग्रह गरेका छन् । उनले सीमाका विषयमा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
सांसद बिडारुलिे मन्त्री सांसद र नेताहरु धेरै हिँडडुल नगर्न सुझाव दिए । उनले लकडाउन भनेर सरकार घर र सिंहदरबारमा बस्न नहुने सुझाव दिएका छन् ।
‘सरकार चाँही घरमा, सिंहदरबारमा बसिरहने होइन् । लकडाउनको बेलामा के–के गरेर औषधि ल्याउन सकिन्छ । कसरुी बजेट व्यवस्थापन गर्न सकिन्छ ? के–के गरेर जनतालाई रोगबाट नियन्त्रण गर्न सकिन्छ ? नीति, कानुन बनाउने’ उनले भने, ‘मनलाग्दी आदेश गरेको छ कानुन पुगेको छैन् । आदेश नगरु रोग फैलिन्छ । यत्रो सदन चलिराख्या छ सरकार घुइँघुइँ हिँराखेको छ । कलम कापी छँदैछ । तलब दिएर राखेको विज्ञ छँदैछ । हाउसमा ल्याएर विधेयक पास हुने परिस्थिति छँदैछ क्यारे । विपक्षीले पनि ताली बजाइ बजाई पास गरिहाल्छन् क्यारे ।’




प्रतिक्रिया