जाग्नेछ रामारोशन !


– बलराम रोकाया

dish home

वर्तमान नेपालको राजनैतिक, सामाजिक र साँस्कृतिक आन्दोलनका हरेक कालखण्डमा आफ्नो अतुलनिय योगदान दिदै आएको रामारोशन यतिखेर फेरि अर्को निर्णायक आन्दोलनको पर्खाइमा छ । प्रकृतिले भूस्वर्गको अनुपम वरदान दिए पनि उसको सुन्दरता र ईमान्दारीताको बुँई चढेर ठालु बनेका हरेक नायकहरु एकपछि अर्को गर्दै खलनायक बनेपछि आखिर को नै बस्छ र हातमा दहि जमाएर ? बन्दुकको आडमा सत्ताको रवाफ देखाउने शासक र तीनको जुठोमा बिक्ने एकाध चेतना विहिन भाट बाहेक आम श्रमजिवी रामारोशनबासी जनताहरु अवश्य जाग्नेछन्, न्याय, समानता र स्वतन्त्रताको लागि ।

जसले हिजो रामारोशनलाई तिम्रो उन्नतीको बाधक सामन्तवाद हो त्यसलाई परास्त पार्छौ साथ देउ भने, तीनीहरु नै आज नवसामन्त बनीरहेछन् र त हिजो अरुको घरबाट सापटी लिएर पेट पाल्नेहरु आज शहरमा धमाधम महल ठड्याउँदैछन् । जसले गास, बास र कपासको ग्यारेन्टी गर्छौ भन्यो, त्यसैले आज रामारोशनको गास, बास र कपास लुटिरहेछ । जसले हिजो लैङ्गिक समानताको खोल ओढेर नारी अधिकारको आवाज उठायो, त्यसैले आज गाउ र शहरमा दुइ–दुइटा श्रीमति भित्रयाएको छ ।

जसले हिजो बुर्जुवा शिक्षा बन्दको उर्दी जारी गर्दै कलिला अबोध बालबालिकहरुका किताब खोसेर हातमा बन्दुक थमायो, त्यसकै छोराछोरी आज देशकै अग्रणी विद्यालयमा निशुल्क छात्रवृत्तिमा अध्ययन गर्दैछन् । हो तिनै हुन् हिजो अन्धविश्वास र रुढीवादको नाममा जनताका कला–संस्कृति, रितीरिवाज र धार्मिक आस्थामाथि बम पड्काउदै टुप्पी काट्नेहरु, तर आज आर्थिक कमिशन र पुण्य प्राप्तिको नाममा टोलटोलमा आधुनिक शिक्षालय होइन, मठमन्दिर निर्माण गर्दै मठाधिश र नवपुरोहितको रुपमा आफै टुप्पी पालिरहेछन् । हो त्यसैले रामारोशन अवश्य जाग्नेछ ।

रामारोशनका वीरताका कथा, शहिदका गाथा र जनताका व्याथा गाउने जनकवीहरु भजन शिरोमणी भैदिए । वर्ग बैरीको अड्डामा जनताको कसम खाएर धावा बोल्ने मुक्तियोद्धाहरु, जनताको त्याग र शहिदको रगतले अज्र्याको लालकिल्ला मास्ने गुरुयोजना बुन्दैछन् । जसलार्ई रामारोशनले भोकमा भोजन दियो, प्यासमा पानी दियो, चिसोमा ओत दियो, माया–ममता दियो, ढाडस दियो, आँट, धैर्यता र शाहस दियो । बालक, जवान र वृद्धवृद्धाले दियो । विद्यार्थि, शिक्षक र कर्मचारीले दियो ।

लाहुरे, गोठालो र घट्टालोले दियो । किसान, मजदुर र गृहिणीले दियो । हरएकले दियो सर्वश्व दियो । तन, मन र धन दियो । परम्परा, रितिरिवाज दियो । दियो कला–संस्कृति र आस्था पनि । देवत्वकरण र्गिरएका तिनै ढाेंगी देवताहरु कालान्तरमा दानवको रुपमा परिणत भैदिए । रामारोशनको त्याग र शहिदको रगत (द्धन्द्धपिडीत राहत) को नाममा ६० प्रतिशत भन्दा बढी रकम कमिशन खाए । शिक्षाको नाममा खाए, स्वास्थ्यको नाममा खाए, विकासको नाममा खाए, सुरक्षाको नाममा खाए । दलितको नाममा खाए, महिला, जनजाती र अल्पसंख्यकको नाममा खाए । भूगोलको नाममा, भाषा, कला–संस्कृति र धर्मको नाममा खाए । आकाशको नाममा, पातालको नाममा र जङ्गलको नाममा खाए । अधिकार, न्याय, समानता र स्वतन्त्रताको नाममा खाए । शिकारी, पुजारी र भिखारीको नाममा खाए । हो त्यसैले रामारोशन अवश्य जाग्नेछ ।

यति मात्र कहाँ हो र ? २००७ साल तिर जहाँनिया राणाशासनको विरुद्ध लडाए, प्रजातन्त्रको खातिर । २०३६/४६ तिर पञ्चायतको विरुद्धमा लडाए, बहुदलको खातिर । त्यत्तिले पुगेन यिनलाई निरंकुश राजतन्त्रका विरुद्ध फेरि उर्दी जारी गरे २०५२ सालमा । युगौ देखि हरेक शासकको थिचोमिचोमा परेको रामारोशनले स्वायत्तताको वर्गीय आन्दोलनमा अग्रणी मोर्चामा रहेर नेतृत्व ग¥यो । रामारोशनका सन्तानहरु टुहुरा भए, सयौं नारीको अस्मिता लुटियो, सिन्दुर पुछियो । बस्ती उजाडीए, घर खरानी भए । बाह्र बण्डको कञ्चन पानी बग्ने कैलाश खोलामा रामारोशनको पसिना र शहिदको रगत बगीरहृयो, निरन्तर बगीरहृयो । अहँ, रामारोशन रत्ति झुकेन, हारेन र थाकेन पनि । मानव जातीको मुक्ती संग्राममा एक ढल्दा सयौ जन्मिने संकल्प सहित लडिरह्यो निरन्तर । र आज पर्यन्त त्यो शिलशीला अविछिन्न चलिरहेछ । विडम्वना ! समग्र रामारोशनको मुहार फेर्न उसको त्याग र शहिदको रगतको कसम खाएर शहर छिरेका तमाम जननायकहरु आजतक फर्केनन् ।

फर्के त केवल जननायकको मुकुण्डो भिरेका रक्तपीपाशु खलनायकहरु । जसले रामारोशनलाइ झुटो आस्वाशन सिवाय केही दिएनन् । हो त्यसैले रामारोशन जरुर जाग्नेछ । रामारोशनले कागजी बाघको संज्ञा दिइसकेका पात्रहरु फेरि पनि सत्ताको बागडोर समालेर बसेका छन् । मानौ त्यो आसन तीनलाई ससुरालीबाट मिलेको दाईजो हो वा तीनका पुर्खाबाट विरासत स्वरुप पाएको अंश हो । त्यहाँ राम्रालाई होईन हाम्रालाई अवसर छ र त मगन्तेहरु मालिक बनेका छन् र जो मालिक थिए, हुन् तीनलाई सिर्फ मगन्ते बनाईका छन् । योग्यताको प्रमाणपत्र बोकेर तीनका दैलो चहार्ने युवायुवतीहरु वा पाटी, पौवा, विद्यालय, पुल–पुलेसा निर्माणको अपेक्षा राखेर दैलो चहार्ने जनताहरु हुन् पहिलो शर्त कमिशन (घुुुस) कम्तिमा ५० प्रतिशत । यो पुर्वाग्रह वा प्रतिशोध होइन आवश्यक परे सुरक्षीत छन् प्रमाणहरु जनतासँग । अब भन्नोस रामारोशन नजागे को जाग्छ ? हो रामारोशन अवश्य जाग्नेछ । हो रामारोशन जरुर जाग्नेछ ।

जनयुद्धको भेलमा सुरक्षित रहेका सामान्तवादी अवशेष र नवसामान्तवादी भ्रष्ट दलाहरुको अस्तित्व नामेट पार्न रामारोशन अवश्य जाग्नेछ, जाग्नुछ र जाग्दैछ । हो एउटै उपाए छ, आजतकका तमाम गल्तिको क्षतिपुर्तिसहित सार्वजनि रुपमा माफी माग्दै तिमले पाएको दुर्लभ अवसरको सदुपयोग गर । फरक मतको सम्मान गर । कमिशनको लोभमा तपशिलका काल्पनिक (पुदु–साँकोट पुल) योजनाको डीपीआरमा करोडौ फजुल खर्च होईन रामारोशन बासीलाई गास, बास र कपासको आदिम संघर्षबाट मुक्त गर्ने आधारभुत विकास योजना लागु गर ।

प्रकृतिको अनुपम वरदान रामारोशनका तालहरु मासेर खेलमैदान निर्माण गर्ने चुत्थो अदुर्दशीता होइन, अतिक्रमित ताल र भूगोललाई संरक्षित र विकास गर्दै अछाम मात्र नभई समग्र सुदुरपश्चिमकै अर्थोपार्जनमा टेवा पु¥याउने आकर्षक पर्यटकीय गन्तब्य बनाउने दुरदर्शीता प्रकट गर । रामारोशनले जयकार्नेछ । अन्यथा बादशाह घोडाबाट अवश्य झारिनेछ । हेक्का राखे हुन्छ, रामारोशनको निर्णायक क्रान्तिको भेललाई दुनियाँका कुनै तागतले रोक्न, छेक्न सक्ने छैन ।

अबको क्रान्ति जनताको पक्षमा हुनेछ । जनताको हुनेछ । जनता मार्फत हुनेछ । हो जरुर ! रामारोशन जगाउने निर्णायक क्रान्तिको नेतृत्व गर्ने आदर्श नायक जन परिक्षामा उत्तिण त हुनै पर्नेछ । उसको बोलीमा, व्यवहारमा र समग्र जीवनशैलीमा क्रान्तिकारीता झल्किनु पर्नेछ । यहाँ सम्म कि उसले फेर्ने हर धडकनको स्रोत जनतालाई सार्वजनिक गर्नुपर्नेछ । अन्यथा विवेकमा बिर्को र चेतनामा पट्टी बाँधेर काशनकै भरमा एकाध भुईफुट्टा पात्रलाई फेरि पनि सत्ताको मालिक बनाउने घृणीत खेलमा कदापी सहभागी हुनेछैन रामारोशन । हो रामारोशन अवश्य जाग्नेछ, जबसम्म शासक र शासित बीचको परिभाषामा बदलाब आउँदैन । अस्तु !

प्रतिक्रिया दिनुहोस