काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आज शुक्रबार १६औं वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति पौडेलले महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताए । उनले धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपपस्थिति आशलाग्दो देखिए पनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।
उनले भने, ‘तापनि जनजीवनका अन्य महत्त्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रूपमा कार्यसम्पादन गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरू समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्त्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाहरूको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक रहेको समेत बताए ।
सो अवसरमा आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले गरेका काम कारवाहीबारे संक्षिप्त जानकारी गराए । उनले महिला हक अधिकारको संरक्षण तथा हिंसा पीडित महिलालाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताए ।




प्रतिक्रिया