जाजरकोट – राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेटेका छन् ।
बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनले बिरामीको गुनासो समेत सुनेका छन् ।
सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनर्निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
भेरी–३ थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गरेका राष्ट्रपति पौडेलले पहिले आफू त्यो ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनर्निर्माणको कामलाई तीव्रता दिइने बताए ।
ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरू तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घर समेत उनले अवलोकन गरे ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्का तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पपीडितको उद्धार र उपचारमा लागिरहेकाले अब समस्या समाधान हुँदै जाने र सरकारले सबै समस्या समाधान गर्ने राष्ट्रपति पौडेलले बताए ।




प्रतिक्रिया