राष्ट्रपति पौडेलसमक्ष ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति पौडेलसमक्ष ५ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि नवनियुक्त राजदूतहरूले मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

प्रमाणपत्र पेश गर्नेहरूमा ३ आवासीय र २ गैरआवासीय राजदूतहरू रहेका छन् ।

अष्ट्रेलियाका राजदूत साइमन जर्ज अर्न्स्ट, साउदी अरबका राजदूत फहद मोहम्मद अज्मी मनिख्र र जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । उनीहरू तीनै जना नेपालका लागि आवासीय राजदूत हुन् ।

गैरआवासीय राजदूतका रूपमा मालदिभ्सकी राजदूत आइसाथ अजिमा र तुर्किये गणतन्त्रका राजदूत अलि मुरात एर्सोयले पनि मंगलबारै राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

ओहोदाको प्रमाणपत्र पेश गर्न आएका नवनियुक्त राजदूतहरूलाई परम्पराअनुसार लाजिम्पाटदेखि राष्ट्रपति भवन शीतल निवाससम्म नेपाली सेनाको रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।