काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सत्ता समीकरणबारे छलफल नै नगरी सकिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सत्ता समीकरणबारे छलफल नभएको नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
‘सरकारको विषयमा कुरै भएन । क्रियाशील सदस्यताको नामावली इन्ट्री गर्ने मिति परिवर्तनलगायत पार्टीको आन्तरिक विषयमा छलफल भयो’, उनले भने ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको कुरा उठाए पनि सभापति शेरबहादुर देउवाले उक्त विषयमा पछि कुरा गरौं भन्दै टारेका थिए ।
‘अहिले महाधिवेशनका विषयमा कुरा गरौं । सरकारको कुरा पछि गरौंला’, देउवाको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।
त्यस्तै बैठकले क्रियाशील सदस्यताको नामावली वेबसाइटमा इन्ट्री गर्ने मिति परिवर्तन गरेर जेठ १५ गते राति १२ बजेसम्म पुर्याएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी भएका निर्णय वैशाख १७ गते ५ बजेसम्म केन्द्रमा पुर्याउनुपर्नेछ ।




प्रतिक्रिया