प्रमुख निर्वाचन आयुक्तको जवाफले रामचन्द्र आक्रोशित, देउवामाथि पोखे रिस

प्रमुख निर्वाचन आयुक्तको जवाफले रामचन्द्र आक्रोशित, देउवामाथि पोखे रिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित भएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता पौडेलले थपिएको ६ महिनाको अवधिमा पनि महाधिवेशन हुन नसक्ने अवस्था आएको भन्दै सभापति देउवामाथि आक्रोश व्यक्त गरेका हुन् ।

उनले पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको भएपनि असाधारण परिस्थिति भनेर एक वर्ष थपिएको र संविधानलाई समातेर थप छ महिना बढाइएको स्मरण गरे । बढाइएको ६ महिनाको समयमा पनि महाधिवेशन नहुने छाँट देखेपछि नेता पौडेलले सामाजिक सञ्जालमा देउवाप्रति आक्रोश पोखेका हुन् ।

नेता पौडेलले तोकिएको समयमा महाधिवेशन नगरेर पार्टीलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको बताए । नेता पौडेल त्यतिमा रोकिएनन् । उनले देशको बिडम्बना भन्दै सर्वत्र असफल व्यक्तिहरु वारम्बार सत्ता समाल्न पुग्ने बताए ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ,’ उनले भने, ‘यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारम्बार सत्ता समाल्न पुग्छन् ।’

किन आक्रोशित भए पौडेल ?

नेता पौडेल आक्रोशित हुनुको कारण निर्वाचन आयोग रहेछ । उनले आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र कानूनविदहरुसँग परामर्श गरेका रहेछन् ।

थपलियाले आयोग कानूनमा टेकेर अगाडि बढ्ने भन्दै आफैंले बनाएको कानून पढ्न सुझाव दिएपछि नेता पौडेलको आक्रोश थप बढेको रहेछ । कानूनविद्हरुले विकल्प रहेको सुझाव दिएपनि प्रमुख आयुक्तले भने ‘तपाईहरुले बनाएको कानून एक पटक पढ्नूस्’ भन्ने जवाफ दिएका थिए ।

‘आइतबार मैले उहाँसँग कुरा गरेको थिएँ । तपाईहरुले बनाएको कानून पढ्नूस् भन्ने जवाफ दिनुभयो,’ नेता पौडेलले भने ।

केही दिन अगाडि नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका थिए । उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।

उनले भनेका थिए, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसिरसम्ममा हुन्छ ।’