काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् । सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो शुरु गर्न दवाव दिन लागेको पौडेल पक्षका नेताहरूले बताएका छन्। आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरूको बैठकको निर्णयअनुसार उनले सभापति देउवालाई भेट्न लागेको नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
आज अपरान्ह भेट हुने भनिएपनि समय तय भैनसकेको नेता रिजालले काठमाण्डुपाटीलाई जानकारी दिए । वरिष्ठ नेता पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएको छ । आज बिहानको बैठकमा पार्टीका जिल्ला सभापतिहरूको मागअनुसार छिटो क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरू गर्न सभापति देउवालाई दवाव दिने निर्णय गरिएको थियो ।
नेपाली कांग्रेसको महाधिवेशन वैधानिक ढंगले आगामी मंसिर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यताको विवाद अझै समाधान भएको छैन ।




प्रतिक्रिया