बालुवाटारबाट रित्तो हात फर्किए रामचन्द्र पौडेल

बालुवाटारबाट रित्तो हात फर्किए रामचन्द्र पौडेल


काठमाण्डु- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको थियो ।

पौडेलले आफुहरुले विश्वासको मत दिएकाले सोहीअनुसार सभामुखमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । तर, प्रधानमन्त्री प्रचण्डले भने सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी परेकाले कांग्रेस उम्मेदवारलाई सहयोग गर्न नसकिने मनशाय गरेको जनाइएको छ ।

कांग्रेसले सभामुखका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै आजको भेटवार्तामा प्रचण्डसँग नेता पौडेलले तनहुँका ठूला विकास आयोजनाका बारेमासमेत छलफल गरेका छन् ।