हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपाल यसबाट प्रभावित भयो : राष्ट्रपति

हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपाल यसबाट प्रभावित भयो : राष्ट्रपति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपाल यसबाट प्रभावित भएको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ‘हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपाल यसबाट प्रभावित भयो । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्न तथा त्यसका प्रभाव घटाउन विश्व समुदाय एकजुट हुनुपर्छ ।’

उनले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरे । विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी–पहिरोसँगै जीवनयापनका चुनौती थपिएका पौडेलको भनाइ थियो ।

पौडेलले भने, ‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयका कारण सृजित संकटसँग नेपाललगायत सम्पूर्ण विश्वका अन्य मुलुक जुधिरहेका छन् । कसैको एकल प्रयासले यी संकट समाधान हुन सक्दैनन्, सबै एकताबद्ध हुनुपर्छ ।’

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्यः भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’मा हाम्रा साझा चुनौती र अवसर समाहित भएका उल्लेख गरे । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालको संकट, जलवायु परिवर्तनको उच्च जोखिम तथा नेपाललगायत अन्य पर्वतीय मुलुकका जलवायुजन्य समस्या घटाउन व्यक्त गरेको विचार स्मरण राष्ट्रपति पौडेलले गरे ।

जलवायु परिवर्तनका असर कम गर्न नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्य गर्दै आएको तथा यो विषय सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन भएको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले कार्यक्रमका माध्यमबाट उच्च हिमशृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन हुने बताए । उनले वातावरण संरक्षणसँगै चौतारी र पोखरीको संरक्षण आवश्यक भएको बताए ।

राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षरोपरणको शुभारम्भ गरेका थिए ।