विपत्तिमा विवाद होइन, राष्ट्रिय एकता खोजौंः राष्ट्रपति पौडेल

विपत्तिमा विवाद होइन, राष्ट्रिय एकता खोजौंः राष्ट्रपति पौडेल

फाइल फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीले निम्त्याएको महाविपत्तिपछि मुलुकसामु खडा भएको संकट सामना गर्न सरकार, राजनीतिक दलदेखि आमनागरिकसम्म सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।

बाढी प्रभावित क्षेत्र नवाकोट र रसुवाको निरीक्षण गरेर राजधानी फर्किएपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उद्धार, राहत र मानवीय सहयोगमा संलग्न संघसंस्था, जनप्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र तथा व्यवसायीलाई पनि संकटको सामना गर्ने अभियानमा एकताबद्ध हुन अपिल गरे ।

विपत्तिको यो घडीमा कसैलाई दोषारोपण गर्ने बहसमा अल्झिनुभन्दा प्रभावित नागरिकको उद्धार, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन’, उनले भने, ‘यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो ।’

बाढीबाट तत्काल उत्पन्न संकट समाधान गर्नुका साथै त्यसपछिको अवस्थालाई व्यवस्थापन गर्ने चुनौती पनि उत्तिकै महत्वपूर्ण रहेको उनले औंल्याए ।
पुनर्निर्माण र पुनःस्थापनासँगै प्रभावित क्षेत्रको आर्थिक गतिविधि सामान्य अवस्थामा फर्काउने कामलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।

पौडेलले विपत्तिपछि गरिने पुनर्निर्माणलाई विगतकै ढाँचामा अघि बढाउनेभन्दा भविष्यमा यस्ता जोखिमबाट हुने क्षति कम गर्ने गरी विकासको अवधारणामै पुनर्विचार गर्नुपर्ने बताए ।

‘यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,’ पौडेलले भने, ‘हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ ।’

राष्ट्रपतिले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणलाई समेत राष्ट्रिय प्राथमिकताको विषय बनाएर अघि बढ्नुपर्ने स्पष्ट गरेका छन् ।