काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको सबैभन्दा बढी सामना गरिरहेका नेपालजस्ता तेश्रो विश्वका मुलुकका लागि जिम्मेवारीपूर्वक कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई विश्वव्यापी तापपान वृद्धिसँग जोड्दै उनले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय तहबाट गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेका हुन् ।
पौडेलले पछिल्लो विपत्तिले नेपालले सामना गरिरहेको जलवायुजन्य चुनौतीलाई थप उजागर गरेको बताए । भोटेकोशी बाढीले हिमाली पर्यावरणको संवेदनशीलतासँगै तापक्रम वृद्धिबाट निम्तिने जोखिमप्रति सचेत हुनुपर्ने अवस्था देखाएको उनको भनाइ थियो ।
‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ’ राष्ट्रपतिले भने, ‘म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु ।’
राष्ट्रपतिले नेपालले पछिल्लो समय मात्र नभई लामो समयदेखि विभिन्न किसिमका विपत्तिको सामना गर्दै आएको पनि उल्लेख गरे ।
भूकम्पदेखि बाढी, पहिरो र महामारीसम्मका संकटबाट गुज्रिँदा नेपाली समाजले हरेकपटक कठिन परिस्थितिको सामना गरेको उनले बताए ।
विपत्तिका बेला नेपाली नागरिकले देखाउँदै आएको धैर्य र आत्मविश्वासलाई पौडेलले संकट सामना गर्ने महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे ।




प्रतिक्रिया