काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमति जुटेपछि शनिवार बिहान वरिष्ठ नेता पौडेल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।
सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको थियोे । सोही सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूह आन्तरिक छलफलमा जुटेको हो ।
पौडेल निवास चाक्सीबारीमा जारी बैठकमा नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, कांग्रेस जिल्ला सभापतिहरु नुवाकोटका जगदीशनरसिंह केसी, काठमाण्डुका सबुज बानियाँ, धादिङका रमेश धमलालगायत छन् ।
पौडेल पक्षका जिल्ला सभापतिहरु क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने मागसहित बुधवारबाट रिले अनशनमा छन् । यता केन्द्रले शुक्रवारसम्ममा ४८ जिल्लाको क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गरिसकेको छ ।




प्रतिक्रिया