काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रमचन्द्र पौडेलबीच भर्चुअल जुम मिटिङमा घोचपेच भएको छ ।
बिहीबार प्रेस युनियनको स्थापनाको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेताबीच घोचपेच भएको हो ।
कार्यक्रमको सुरुमा सम्बोधन गरेका वरिष्ठ नेता पौडेलले सभापति देउवाले १४ औं महाधिवेशन गर्न नसकेको आरोप लगाए ।
आगामी भदौमा गर्ने भनिएको महाधिवेशनको मिति नजिकिरहँदा क्रियाशील सदस्यता नै टुंगो नलगेको भन्दै नेता पौडेलले कांग्रेसको भविष्य अन्धकारमा पर्नसक्ने बताए । उनले चार वर्षको समय पनि गुजारेर महाधिवेशन गर्न नसक्नुले पार्टी संकटमा परेको बताए ।
‘हाम्रो पार्टी अहिले संकटमा छ । हाम्रो पार्टीले चार वर्षभित्र निर्वाचन गर्नूपर्ने । त्यो चार वर्ष पनि कटायौं । एक वर्षपनि कटायौं । अब ६ महिनाको समय पनि भदौमा सकिँदैछ’, उनले भने ।
नेता पौडेलले पार्टीको क्रियाशील सदस्यता ८ लाख रहेको बताउँदै त्यसलाई छानबिन गर्न समितिले काम गरिरहेको बताए । उनले कतिपय जिल्लामा समायोजन प्रक्रिया बाँकी रहेको पनि बताए ।
‘समय घर्की सकेको छ । काम अझै बाँकी छ । हाम्रो अगाडि दुई वटा विकल्प मात्रै छन् । जति क्रियाशील सदस्य टुंगो लागेको छ । तिनिहरुबाट वडा, गाउँपालिका, क्षेत्रीय महाधिवेशन प्रतिनिधि बनाएर तिनिहरुबाट महाधिवेशन सम्पन्न गर्ने’, उनले भने, ‘अर्को क्रियाशील सदस्यता बनाएर यसलाई कम्प्लिट पद्धतिबाट १४ औं महाधिवेशन गरौं । कि एक वर्षे कार्यकालका लागि महाधिवेशन गरौं । पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि महाधिवेशन गर्न सकिन्छ । विधानअनुसार त निर्वाचित केन्द्रीय समिति नै चाहिन्छ । यी कुरामा सफल भएनौं भने हाम्रो भविष्य अन्धकार छ ।’
पौडेलपछि बोलेका सभापति देउवाले महाधिवेशन नगरेर आफू कलंकको टिका लगाउने पक्षमा नरहेको बताए । उनले आफू महाधिवेशनको पक्षमा भएको भन्दै कोरोना भाइरसको महामारीका कारण समयमा महाधिवेशन गर्न नसकिएको बताए ।
‘रामचन्द्रजीले पार्टी अधिवेशनको कुरा गर्नुभएको छ । अधिवेशन गरेन भन्ने कलंक म व्यहोर्न चाहन्नँ,’ उनले भने, ‘म तपाईंसँगै जेलमा पनि बसेको हुँ । कसरी महाधिवेशन गर्ने छलफल गरौं भनेकै छु । सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो ।’




प्रतिक्रिया