काठमाण्डु – नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसद सिटौला पक्षले नयाँ सरकार गठनका लागि आवश्यक कदम चाल्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
शुक्रबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको भेलाले केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न देउवालाई सुझाव दिएको हो । भेलाले नयाँ सरकार गठनका लागि देउवालाई साथ दिने निर्णय गरेको छ ।
छलफलमा रामचन्द्र पौडेलसहित कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताहरु सहभागी थिए ।
भेलाले सरकारलाई समर्थन गरेर जाने भन्दा पनि माओवादी र जनता समावादी पार्टीसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘वैकल्पिक शक्तिहरुलाई एक बनाउँदै कांग्रेसले नयाँ सरकारका विषयमा कदम चाल्नुपर्छ । यो सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेको अवस्थामा फेरी यही सरकारलाई समर्थन गरेर जान मिल्दैन । सभापतिजीलाई हामीले नयाँ सरकार बनाउने विषयमा ध्यान दिन सुझाव दिन्छौं । यसमा हाम्रो पूर्ण समर्थन रहेको विश्वास दिलाउनेछौं’, बैठकमा सहभागी कांग्रेसका एक नेताले भने ।




प्रतिक्रिया