रामेछाप – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापका मतदातामा उल्लेख्य उत्साह देखिएको छ ।
मतदानको अघिल्लो दिन समेत घर फर्किने मतदाताहरूको भीड देखिएको छ ।
कामको सिलसिलामा काठमाण्डु लगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका मतदाताहरू ठूलो संख्यामा गृहजिल्ला फर्किएका छन् । विशेषगरी काठमाण्डुबाट बस रिजर्भ गरेर समूहगत रूपमा गाउँ फर्किनेको संख्या उल्लेख्य देखिएको छ भने आफ्नै सवारीसाधन प्रयोग गरी घर फर्किनेहरू पनि प्रशस्तै छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । रोजगारी तथा अध्ययनका कारण राजधानी तथा अन्य शहरमा बस्दै आएका मतदाताहरू निर्वाचनका लागि गाउँ फर्किंदा स्थानीय बस्तीहरूमा उत्साह र चहलपहल बढेको छ ।
गाउँघरमा आफन्त तथा छिमेकीसँगको भेटघाट बढेसँगै निर्वाचनलाई लिएर उल्लासमय वातावरण बनेको स्थानीयहरूले बताएका छन् ।




प्रतिक्रिया