रामेछाप – रामेछाप जिल्लाका विभिन्न स्थानमा हावाहुरीले व्यापक क्षति पुर्याएको छ ।
हावाहुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।
साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको १ भवनको छानो पूर्ण रूपमा उडाएर भूइँमा खसालेको छ ।
सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि पनि हावाहुरीबाट प्रभावित भएको छ । विद्यालय नजिकैको रुख ढल्दा भवनको छानामा क्षति पुगेको छ भने शौचालय समेत भत्किएको छ ।
हावाहुरीले विभिन्न स्थानमा व्यक्तिका घरमा पनि क्षति पुगेको छ । क्षतिको विवरण आई नसकेको स्थानीय प्रशासनले जनाएको छ ।
रामेछापमा १० वर्षयताको यो सबैभन्दा ठूलो हावाहुरी भएको स्थानीयले बताएका छन् । यसअघि २०७२ सालको भूकम्पपछि यस्तै हावाहुरी चलेको थियो ।
हावाहुरीका कारण जिल्लाभर विद्युत् सेवामा समेत समस्या देखिएको छ । साँझदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति मंगलबार बिहानसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणको मन्थली प्रसारण केन्द्रका अनुसार सिन्धुली जिल्ला र दोलखा जिल्लातर्फबाट आएको प्रसारण लाइनमा एकैपटक ‘फल्ट’ देखिँदा विद्युत् सेवा बन्द भएको छ ।
प्राधिकरणका अनुसार लाइनमा आएको समस्या पहिचान गर्न प्राविधिक टोली खटाइएको भए पनि बिहानसम्म समस्या पत्ता लाग्न सकेको छैन ।




प्रतिक्रिया