विकास निर्माणका काम द्रूतगतिमा गर्न नयाँ सरकार बन्यो : गृहमन्त्री लेखक

विकास निर्माणका काम द्रूतगतिमा गर्न नयाँ सरकार बन्यो : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

‘चौपातो नेपाल’द्वारा सोमबार कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

मुलुकका प्रमुख २ राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दीगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने विश्वास व्यक्त गरे ।

‘राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको हो,’ उनले भने । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको गृहमन्त्री लेखकको भनाइ थियो ।

‘सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव पर्न थाल्यो । विधिको शासन सुनिश्चित गर्न वर्तमान सरकार गठन गर्न आवश्यक भयो,’ उनले भने ।

शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रूतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट गरे ।

‘सामान्यतया संसद्मा रहेका ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक देखिँदैन । कतिपय अवस्थामा स्वाभाविक मानिँदैन,’ गृहमन्त्री लेखकले भने, ‘तर मुलुकमा महत्वपूर्ण ‘एजेन्डा’ अगाडि आउँछन् । त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा देशका ठूला पार्टी एक ठाउँमा उभिएका हाम्रो इतिहास छ ।’

सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न चाँडै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने सरकारको योजना रहेको गृहमन्त्री लेखकले बताए । महाकाली करिडोर, सेती लोकमार्ग लगायत महत्त्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत तथा चीनसँग जोड्न लागिएको उनको भनाइ थियो ।

‘तिंकर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएका छौं । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ,’ उनले भने ।

सो अवसरमा सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिएका आरडी प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, नेपाली शास्त्रीय गीत–संगीतको क्षेत्रका तिलकसिंह पेला, प्रशासन क्षेत्रमा योगदान पुर्‍याएका डा. हरिदत्त पाण्डेय र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो ।

सुदूरपश्चिमको भाषामा योगदान दिएका डम्बर शर्मा बडूलाई मरणोपरान्त सम्मान गरिएको छ ।