काठमाण्डु – गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि भएको सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा शनिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले भने, ‘कांग्रेसको पहिलो जिम्मेवारी भनेको हाम्रो पहलमा निर्माण गरेको समीकरणलाई अगाडि बढाउनु हो । हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीजीबीच असार १७ गते भएको ७ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी अहिले कांग्रेसको छ ।’
कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको बताए । २ दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमान्दार प्रयत्न रहने गृहमन्त्री लेखकले बताए ।
कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्ने गृहमन्त्री लेखकको भनाइ छ ।
मुलुकमा दीगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको उनको दाबी छ ।




प्रतिक्रिया