गृहमन्त्री लेखकद्वारा महाकालीमा निमार्णाधीन बाँधको स्थलगत अनुगमन

गृहमन्त्री लेखकद्वारा महाकालीमा निमार्णाधीन बाँधको स्थलगत अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका—१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन गरेका छन् ।

आईतबार बाँधको स्थलगत अवलोकन गर्दै उनले महाकाली नदी किनारका बस्ती जोगाउनका लागि सरकारले विषेश निर्णय गरेर मनसुनअघि नै बाँध निमार्ण सम्पन्न गरिसक्ने गरी नेपाली सेनालाई जिम्मा दिएको बताए ।

‘महाकाली किनारका बस्ती बाढीको जोखिममा परेपछि ती बस्ती जोगाउनका लागि गृह मन्त्रालयले विशेष निर्णय गरेर बाँध बनाउने जिम्मा सेनालाई दिएको हो,’ मन्त्री लेखकले भने, ‘यहाँ बजेट अभावले बाँध निर्माणको काम रोकिँदैन, यहाँका बस्ती जोगाउनका लागि सरकारले चाहिने जति बजेट दिन्छ ।’

गत वर्ष महाकालीको बाढीले २६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो । भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाका विभिन्न बस्ती बाढीको जोखिममा परेपछि सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । ‘बाढीले महाकाली नदीमा बनेको ४ लेन पुल र बस्ती नै जोखिममा परेपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको गरेर सेनालाई जिम्मा दिएका हौं,’ उनले भने, ‘सेनाले यहाँको बाढीको समस्या स्थानीय रूपमा निराकरण हुने गरी काम गरिरहेको छ ।’

नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर बाँध निर्माण कार्य अघि बढाएको उनले बताए । अवलोकनका क्रममा उनले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए ।

गृहमन्त्री लेखकले कञ्चनपुरको दोधाराचाँदनीस्थित बन्ने सुख्खा बन्दरगाह शिलान्यासको काम छिट्टै हुने बताए ।