काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोक्न निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नबीन्द अर्याललाई निर्देशन दिएका हुन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारले लोकदोहोरी क्षेत्रमा फैलिएको विकृति रोक्न पहल गरिदिन भन्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गर्न गृह मन्त्रालय पुगेको अवसरमा बोल्दै लेखकले सामाजिक सञ्जालमा हुने विकृति रोक्न निष्कर्षसहित अघि बढ्ने बताए ।
सो अवसरमा बोल्दै प्रतिष्ठानकी अध्यक्ष ऋता थापा मगरले विकृति प्रतिष्ठानले चाहेर मात्रै रोक्न सम्भव नभएको भन्दै राज्य स्तरबाट नै पहल गरिदिन आग्रह गरेकी थिइन् । त्यस्तै प्रतिष्ठानका पूर्वअध्यक्ष तथा लोक दोहोरी गायक बद्री पंगेनीले आफू पटक–पटक मन्त्रीहरूको निर्देशन सुनेर फर्किएको भए तापनि गृहमन्त्री लेखककै पालामा समस्या समाधान हुनेमा जोड दिए ।
उनले भने, ‘गृहमन्त्रीज्यूले तत्कालै प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोकेर काम अघि बढाउन तदारुकता देखाउनुभएको छ, यसरी नै काम अघि बढेमा विकृतिमा रोकिनेछ ।’ साइबर ब्युरो प्रमुख नबिन्द अर्यालले प्रतिष्ठानलाई जाहेर दिएलगत्तै कानूनी प्रक्रिया अघि बढ्ने बताए ।




प्रतिक्रिया