काठमाण्डु – गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको बताएका छन् ।
आईतबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताए ।
उनले मनसुनजन्य विपद् जोखिम न्युनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए ।
गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत गृहमन्त्री लेखकले बताए ।
‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरू उत्पन्न हुने गर्छन् । त्यसको जोखिम न्युनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्नका लागि तयारी गरिरहेका छौं । हामीसँग कानूनले नै विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो,’ उनले भने ।




प्रतिक्रिया