कारागारमा कैदीबन्दीको संख्या बढेकाले नयाँ भवन आवश्यक छ : गृहमन्त्री लेखक

कारागारमा कैदीबन्दीको संख्या बढेकाले नयाँ भवन आवश्यक छ : गृहमन्त्री लेखक


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धि लगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताए ।
‘बन्दी र कैदीका रूपमा कारागारमा रहेकाहरूको मानव अधिकारको पूर्ण रूपमा संरक्षण गरिनेछ,’ मन्त्री लेखकले भने, ‘त्यहाँको स्थिति सुधार गर्ने तथा सुविधा बढाउने प्रयत्न गरिरहेका छौं ।’
शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी सांसदहरूले उठाएको विषयमा बोल्दै उनले भौतिक संरचना निर्माण लगायत समग्र विषयमा आर्थिक स्रोत जोडिएको बताए ।
‘सीमित स्रोतसाधन र सीमित आर्थिक व्यवस्थामा अलि बढी काम गर्नुपरिरहेको छ,’ उनले भने, ‘कारागार र बाल सुधार गृहको भौतिक अवस्था अपर्याप्त, जीर्ण र दयनीय छ ।’
उनले बाल सुधार गृहमा बसेका बालबालिकाको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गरे । देशमा शान्ति सुरक्षा, अमनचयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानून संशोधन, परिर्माजन र नयाँ निर्माणमा आफू लागिपरेको उनले बताए ।
‘प्रहरी संगठन सुदृढ गर्न प्रहरी ऐन संशोधन गर्नुपर्नेछ,’ उनले भने, ‘समसामयिक रूपमा सुदृढ र समयसापेक्ष बनाउन संशोधन आवश्यक छ ।’ कर्मचारीको सरुवालाई सरुवाकै रूपमा बुझिदिन उनले आग्रह गरे ।
मनसुनजन्य विपद्बाट ७७ वटै जिल्ला प्रभावित रहेको जानकारी दिँदै मन्त्री लेखकले प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि सरकार लागिपरेको बताए ।
चितवनको सिमलताल बस दुर्घटनाका विषयमा खोजी कार्यमा सक्दो प्रयास जारी रहेको उल्लेख गर्दै मन्त्री लेखकले सो कार्यमा सबै सुरक्षा निकाय खटिएको बताए । ‘सिमलताल घटनामा जति परिणाम प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेनौं,’ उनले भने, ‘भारतबाट पनि प्राविधिक सहितको टोली आएर खोजी कार्यमा जुट्दा पनि बस र सबै शव फेला पार्न सकिएन ।’
बैठकमा गृहसचिव एकनारायण अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा, कारागार र बाल सुधार गृहको अवस्था, मनसुनजन्य विपद्का घटनामा भएको जनधनको क्षति लगायतको विषयमा जानकारी गराएका थिए ।