काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गत वर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारहरूका लागि ३ अर्ब १६ करोड रुपैयाँ निकासा गरिसकेको बताएका छन् ।
राष्ट्रिय सभामा बिहीबार गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरका क्रममा सांसद कृष्णबहादुर रोकायाले गत कात्तिक १७ गते गएको जाजरकोट भूकम्प पीडितले राहत पाउन नसकेको गुनासो गरेपछि गृहमन्त्री लेखकले ३ अर्ब निकासा भइसकेको बताए ।
गृहमन्त्री लेखकले ८६ हजार ६९० लाभग्राहीका लागि हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको बताए ।
उनले भने, ‘जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा मिति २०८० कात्तिक १९ गतेको कार्यकारी प्रमुख स्तरीय निर्णय बमोजिम रुकुम पश्चिम र जाजरकोट जिल्लामा ५–५ करोड सहित ३ अर्ब १६ करोड रूपैंया निकासा भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिबाट २ अर्ब २५ करोड ५ लाख २५ हजार रूपैंया स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको थियो । स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पुरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ता बापत १ अर्ब ९२ करोड ५८ लाख २५ हजार रूपैंया लाभग्राहीको खातामा निकासा भइसकेको छ । जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीमध्ये ९५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख रूपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासा भएकामध्ये बझाङ जिल्लाका १२५५ जना लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रूपैंया दोस्रो किस्ताबापत प्राप्त गरेका छन् । अन्य जिल्लामा दोस्रो किस्ता बापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको छ ।’
उनले ‘विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण अनुदान मापदण्ड २०८१’ मन्त्रिपरिषद् बैठकमा पेश हुने बताए । सबै खाले विपद्बाट घर क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिका लागि बनेको मापदण्ड बिहीबारको मन्त्रिपरिषद् बैठकमा स्वीकृतिका लागि पेश हुन लागेको उनले बताए ।




प्रतिक्रिया