हराएको २४ लाख डोज खोपबारे आचार्य भन्छन् : मन्त्री खतिवडाले २ अर्ब ५० करोड घोटला गरे 


टक खाती, काठमाण्डु – नेपालले प्राप्त गरेको कुल खोपमध्ये हराएको भनिएको २४ लाख डोज खोप अँझै फेला परेको छैन । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना संक्रमण नियन्त्रणमा मन्त्रालयले गरेको तयारीका बारेमा जानकारी दिँदै सचिव डा. रोशन पोखरेलले २४ लाख खोप हराएको बताएका थिए ।

उक्त खोप हालसम्म पनि नभेटिएपछि सरकारले खोजी सुरु गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म लगाएको खोपको यकिन विवरण पठाउन तीनवटै तहलाई निर्देशन दिएको थियो । मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय र ७५३ स्थानीय तहलाई शुक्रबार भित्र विवरण बुझाउन निर्देशन दिएको छ ।

यसअघि मन्त्रालयले २४ लाख डोज खोपको तथ्यांक नभेटिएको भन्दै त्यसको विवरण खोज्न पाँच सदस्यीय समिति गठन गरेको थियो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले दुई साताभित्र प्रतिवेदन पेश गर्न समय दिईएको छ ।

यसैबीच नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।  २४ लाख डोज कोरोनाविरुद्धको खोप मन्त्री खतिवडाले गायब गरेको भन्दै संघले मंगलबार उजुरी दिएको हो ।

संघका महासचिव रमेश आचार्यले खोप ल्याएको र लगाएको लगत राख्ने काम मन्त्रालयको हुने भएपनि जवाफदेहीता भने स्वास्थ्यमन्त्रीले लिनुपर्ने काठमाण्डुपाटीलाई बताए ।  काठमाण्डुपाटीसँगको कुराकानीमा आचार्यले भने, ‘आएको खोपको लगत राख्ने काम र खोप आइसके पछाडि त्यो खोप कहाँ-कुन ठाउँमा प्रयोग भयो भन्ने कुराको लगत राख्ने काम विषयगत हिसाबले स्वास्थ्य मन्त्रालयको हो । स्वास्थ्य मन्त्रालयको नेतृत्व चाहिँ स्वास्थ्यमन्त्रीले गर्छ । त्यसकारण हामीले स्वास्थ्यमन्त्रीविरुद्ध मुद्दा दायर गरेका हौँ ।’

त्यसैगरी स्वास्थ्यमन्त्रीले नै २४ लाख डोज खोपको करिब २ अर्ब ५० करोड घोटला गरेको उनले दाबी गरे । ‘सरकारले २४ लाख डोज खोपको विवरण अहिले सम्म सार्वजनिक गर्न सकेको छैन् । अनि अर्को कुरा  डा. रोशन पोखरेलले त स्पष्ट जफाव दिनु भएको छ,’ उनले भने, ‘खोप नेपाल भित्रिएको कुरा साचो हो । तर हामीले हिसाब देखाउन सकिरहेका छैनौँ डा. पोखरेलले भन्नु भएको छ । उहाँको अभिव्यक्तिबाट नै स्पष्ट हुन्छ स्वास्थ्य मन्त्रालयले नै  खोप गायब गरेको भन्ने कुरा । त्यसकारण स्वास्थ्य मन्त्रालयको नेतृत्व स्वास्थ्यमन्त्री खतिवडाले गर्ने भएकाले  २४ लाख डोज खोपको करिब २ अर्ब ५० करोड घोटला गर्ने मन्त्री खतिवडा नै हुन् ।’

कोरोना महामारीको समयमा जनतालाई खोप दिन छोडेर २४ लाख डोज खोप गायब गर्ने स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आचार्यले बताए । त्यसैगरी उनले स्वास्थ्यमन्त्री खतिवडालाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । ‘कोरोना महामारीको समयमा नागरिकलाई खोप दिन छोडेर खोप नै गायब गर्ने स्वास्थ्यमन्त्री खतिवडाले पद बस्न मिल्दैन् । उनले पदबाट राजीनामा दिनुपर्छ । हाम्रो माग भनेको स्वास्थ्यमन्त्री खतिवडालाई कडा कारबाही हुनुपर्छ भन्ने हो ।’
 

प्रतिक्रिया दिनुहोस
Advertisement