कसैको रहरले मात्रै फाइल खुल्दैन : गृहमन्त्री

कसैको रहरले मात्रै फाइल खुल्दैन : गृहमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवद्र्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुनबिना कसैलाई पनि मुद्दा चल्न नसक्ने बताए ।

‘फाइल खोल्ने भनेको के हो ? मुद्दा चलाउने भनेको होला नि, लोकतन्त्रमा मुद्दा कानुनबेगर चल्छ?, रहरमा कसैलाई पनि मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ’, उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छुट्ने कुरा पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।’

‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रद्धिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘संसदीय समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

यस्तै गृहमन्त्री लेखकले नेपाल प्रहरीका डीआईजी डा. मनोज केसीको दुई महिनामै गरिएको सरुवाको निर्णयको बचाउ गरेका छन् । संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले केसीको सरुवाको निर्णयको बचाउ गरे ।

सांसदहरूले विशेष ब्यूरोमा आएको दुई महिना नपुग्दै नक्कली शरणार्थसहितका भीआईपीहरू संलग्न प्रकरणहरूको सफल अनुसन्धान गरेका केसीको सरुवाबारे गृहमन्त्री लेखकलाई घेरेका थिए ।

केसीले विशेष ब्यूरो सम्हालेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका पुत्र प्रतीकलाई पक्राउ गरेका थिए ।

त्यसैगरी उक्त प्रकरणमा परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेस नेतृ डा. आरजु देउवालाईसमेत पोलेका बेचन झालाई पनि उनी नेतृत्वको विशेष ब्यूरोले पक्राउ गरेको थियो ।

विशेष ब्यूरोमा आएको दुई महिना नपुग्दै गत १२ साउनमा केसीको गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेपछि कांग्रेस–एमाले नेतृत्वको गठबन्ध सरकारको चर्को आलोचना भइरहेको छ ।

केसीलाई प्रतिष्ठान पठाएपछि विशेष ब्यूरोमा अहिले डीआईजी राजन अधिकारी आएका छन् । यही प्रसंगमा बिहीबार सांसदहरूले प्रश्न गरेपछि गृहमन्त्री लेखकले प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको भन्दै आफ्नो कदमको बचाउ गरे ।

‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ । तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ’, उनले आफ्नो बचाउमा भने ।
लेखकले केसीलाई गरिएको सरूवाको प्रक्रियालाई सामान्य र नियमित रुपमा चालिएको कदमका रुपमा लिनसमेत आग्रह गरेका छन् ।