बाढी-पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन

बाढी-पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले बाढी–पहिलो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सोमबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औं बैठकमा गृहमन्त्री लेखकले महोत्तरी, बाँके, कास्की, संखुवासभा, कञ्चनपुर, भोजपुर चितवन लगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा कार्यविधि २०८१’ बनाउँदा विदेशी संस्थाबाट लिने साहयता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्न निर्देशन दिए । ‘विपद्मा साहयता लिने कुरामा विदेशी संस्थाहरुको वान डोर इन्ट्री होस् । उहाँहरुबाट चाँडोभन्दा चाँडो सहयोग लिन सकियोस् । कुनै पनि विदेशी संस्थाले हामी कहाँ काम गर्छ भने त्यो संघको जानकारीमा हुनुपर्‍यो,’ उनले भने, ‘वान डोरबाट जानुपर्‍यो भन्ने मलाई लाग्छ । कार्यविधि बनाउँदा यतातिर गम्भीरतापूर्वक हेर्नु होला । साथै यसमा राष्ट्रिय सुरक्षाको विषय पनि अत्यन्त संवेदनशील ढंगले जोडिने गर्छ । त्यसलाई पनि ध्यान दिनुपर्ला ।’

गृहमन्त्री लेखकले आगामी दिनमा कार्यसमिति बैठकमा दैनिक प्रशासनीय विषय भन्दा नीतिगत विषयलाई एजेण्डा बनाउन निर्देशन दिए । ‘दैनिक प्रशासकीय कुराहरु प्राधिकरणले गरोस् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा नीतिगत कुरामा छलफल गरी निर्णयमा पुग्दा उचित हुन्छ । सहमति दिने, अनुमोदन गर्ने जस्ता विषयहरुको अधिकार प्राधिकारणको कार्यकारीजीलाई अधिकार प्रत्योजन गर्न सकिन्छ । यतिले पुग्दैन भने मन्त्रिपरिषदबाट नियम संशोधन गर्न सकिन्छ,’ उनले भने ।

बैठकमा उठेका विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न पनि गृहमन्त्री लेखकको निर्देशन थियो । प्राधिकारणले बैठकमा २०८१ को मनसुनले पारेको प्रभावबारे जानकारी गराइएको थियो । गृहमन्त्री लेखकको अध्यक्षमा बसेको बैठकमा विभिन्न मन्त्रालयका सचिव, तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।