काठमाण्डु – गृहमन्त्री रमेश लेखकले आफूबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखा नपर्ने प्रतिक्रिया दिएका छन् ।
शनिबार धनुषामा भएको कार्यक्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा नाम जोडिएबारे केही दिनमा आफूले पनि बोल्ने बताए ।
उनले आफूबाट कुनै गलत काम नभएको र त्यस्तो भएमा जीवनभर राजनीतिमा देखा नपर्ने बताए । ‘आज म यहाँबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । २–४ दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ,’ उनले भने, ‘मैले जीवनभर राजनीति गर्दा पार्टीका कुनै पनि साथीको मन सानो हुने र शिर निहुरिने काम गर्दिनँ, जुन दिन मेरो हातबाट गलत काम हुन्छ, त्यसै दिनदेखि म राजनीतिमा देखा पर्दिनँ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको बेला गृहमन्त्री लेखक पनि विवादमा परेका छन् ।




प्रतिक्रिया