काठमाण्डु– गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएर नफर्किएकाको बारे सरकारलाई जानकारी दिन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभामा संसद्मा उठेका विषयमा जवाफ दिँदै उनले प्रधानमन्त्रीको भ्रमण टोलीमा जाने सदस्यबारे मन्त्रिपरिषद्को निर्णय हुने बताए।
‘प्रधानमन्त्री स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका मान्छे उतै गए भन्ने पनि कुरा उठेको छ,’ लेखकले भने, ‘हामीले कुनै पनि कुराको न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयवस्तुलाई मर्यादित भएर राख्दा राम्रो हुन्छ।’
यस्तै उनले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न समेत सो पार्टीलाई आग्रह गरेका छन् ।
उनले भने ‘माननीय रवि लामिछाने जी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थयो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो अरे, भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’




प्रतिक्रिया