काठमाण्डु – अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनालले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई भदौ २३ र २४ गते युवाको अगुवाइमा सम्पन्न आन्दोलनको मर्म आत्मसात गरी नागरिकको अपेक्षा पूरा गर्ने खालको गुणस्तरीय र शीघ्र सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरेका छन् ।
बिहीबार मन्त्रालयबाट जारी विज्ञप्तिमा मन्त्री खनालले सहिदहरूको सपना पूरा गर्दै भ्रष्टाचार नियन्त्रण गरी समृद्ध र सुशासनयुक्त नेपाल निर्माणका लागि कर्मचारी एकजुट भएर सरकारको मार्गदर्शनअनुसार अहोरात्र खटिनुपर्नेमा जोड दिएका छन् ।
उनले सरकारले कानूनअनुसार कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा असर पर्ने गरी कुनै निर्णय नगर्ने स्पष्ट पार्दै प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शिता सहितको सेवा प्रवाहमा अविच्छिन्नता कायम राख्न उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न सबैलाई आह्वान गरे ।
मन्त्री खनालले कार्यबोझ बढी भएका कार्यालयमा दरबन्दी बढाउने र कार्यबोझ कम भएका कार्यालयमा दरबन्दी घटाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने नीति सरकारको रहेको जानकारी गराउँदै सुरक्षित कार्य वातावरण सिर्जना गरी निर्वाध सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कर्मचारीको मनोबल कमजोर पार्ने गतिविधि वा कार्यालयको काममा बाधा पुर्याउने खालका कार्यमा संलग्न नहुन चेतावनी दिँदै उनले सबै राष्ट्रसेवक कर्मचारीलाई स्वत:स्फूर्त रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेका छन् ।





प्रतिक्रिया