श्रम मन्त्रीको योजनाः ६० हजारलाई जागिर, १० हजारलाई निःशुल्क तालिम

श्रम मन्त्रीको योजनाः ६० हजारलाई जागिर, १० हजारलाई निःशुल्क तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिने योजना सार्वजनिक गरेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री यादवले तीन महिनाको अवधिमा आफूले गर्ने कामको योजना सार्वजनिक गरेका हुन् ।

उनले १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क तालिम प्रदान गर्ने योजना अगाडि सारेका छन् । त्यस्तै उनले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएका छन् ।

वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउन मन्त्रालयको कार्ययोजना छ ।

त्यस्तै बिमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

उनले आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप १ लाख योगदानकर्ताहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने योजना अगाडि सारेका छन् ।

मन्त्री यादवले राष्ट्रिय आप्रवासन स्रोत केन्द्र मार्फत ३९ जिल्लामा सुरक्षित वैदशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान गर्ने योजना बनाएका छन् ।

उनले एकीकृत निरीक्षण ढाँचाको आधारमा बालश्रम, व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्य, न्यूनतम पारिश्रमिक भुक्तानीलगायत श्रम ऐन नियमको परिपालना भए/नभएको सम्बन्धमा एक हजार वटा उद्योगको अनुगमन गर्ने बताए । उनले न्यूनतम पारिश्रमिक नदिनेमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिए ।

मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताएका छन् ।

मन्त्री यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगारीमा खटिने श्रमिकहरुको दुर्घटना बीमा गरिने उल्लेख गरेका छन् ।