काठमाण्डु – नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले जेनजीहरूको माग पूरा गर्न उनीहरूलाई पार्टीमा समावेश गर्नुपर्ने र त्यसका लागि विशेष महाधिवेशनभन्दा अधिवेशनको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विशेष महाधिवेशनभन्दा अधिवेशनको आवश्यकता रहेको बताए ।
उनले भने, ‘जेनजीहरूको आन्दोलनपछि जेनजीहरूको माग पूरा गर्न उनीहरूलाई पनि पार्टीमा समावेश गर्ने हो भने विशेष महाधिवेशनभन्दा अधिवेशनको आवश्यकता छ । विशेष महाधिवेशन गर्न केन्द्रका लागि उहाँहरूले बुझाउनुभएको छ । केन्द्रको सभापति वा उपसभापतिको, महामन्त्रीको केन्द्रीय सदस्यहरूको मात्र गर्ने हो कि स्थानीय तहको वडादेखि पालिका हुँदै जिल्ला हुँदै अरुको पनि गर्ने हो ? त्यो स्पष्ट छैन ।’
उनले विशेष महाधिवेशनका लागि स्पष्ट नभएकाले केन्द्रीय समितिको बैठकमा छलफल जारी राखेको पनि जानकारी दिए ।
नेता खतिवडाले नेपाली कांग्रेसको विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरूको अवधि मंसिर २९ गतेसम्म मात्र रहेको बताए । उनले विधानअसार १ वर्षको म्याद थप्न सकिने व्यवस्था भए पनि अधिवेशन भयो भने सबैको पदावधि थप्नु नपर्ने समेत बताए ।
‘हामी सामान्यतया ४ वर्षका लागि विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य हौं । विधानले १ वर्ष थप्ने समय दिएको छ । जुन केन्द्रीय समितिले निर्णय गरेपछि मात्र थपिन्छ । अब हाम्रो अवधि विधानतया नथपिने अवधि हाम्रो पनि यही मंसिर २९ गतेसम्म मात्र हो,’ उनले भने, ‘२९ गतेसम्म अधिवेशन भयो भने हामी सबैको पदावधि थप्नु परेन । नत्र केन्द्रीय कार्यबाहक सभापतिदेखि महामन्त्री, उपसभापतिदेखि केन्द्रीय सदस्यहरूको थप गर्नुपर्छ । हैन भने कसैको पनि पदावधि रहँदैन ।’




प्रतिक्रिया