काठमाण्डु – संघीय निजामती सेवासम्बन्धी विधेयकमा राखिएको कुलिङ अफ पिरियड प्रावधानमा भएको छेडखानीमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा दोषी किटान भएपछि उनीमाथि नैतिक प्रश्न उठेको छ ।
अफ पिरियड प्रावधानमा भएको छेडखानीमा छानबिन गर्न बनेको समितिले सभापति खतिवडासहित मुख्यसचिव एकनारायण अर्यालर सचिव सुरजकुमार दुराबाट नै गम्भीर त्रुटि भएको निश्कर्ष छ ।
कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा रहेको ७ सदस्यीय छानबिन समितिले मंगलबार सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा खतिवडालाई यस घटनामा भएको त्रुटिको नैतिक जिम्मेवार देखाएको छ ।
समितिको निष्कर्षपछि खतिवडा सर्वत्र आलोचनाको शिकार भएका छन् । कांग्रेसका जिम्मेवार नेताहरूले यसबारेमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर, केही शीर्ष नेताहरु भने खतिवडाको लापरवाही देखिएकोले समितिको सभापतिको जिम्मेवारीबाट अलग हुँदा नै पार्टीको लागि हितकर हुने निष्कर्षमा पुगेका छन् । सभापति शेरबहादुर देउवाले पनि आफूनिकट नेताहरुसँग यस विषयमा छलफल गरेका छन् ।
खतिवडामाथि नैतिक प्रश्न उठेपनि उनले भने गल्ती नगरेको र समितिले पनि नाम किटान नगरेका कारण आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् । यसअघि खतिवडाले आफूले गलत गरेको पुष्टि भए पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
सुरुदेखि नै विधेयकको प्रावधानमा भएको छेडखानीमा खतिवडाको भूमिकालाई लिएर संशय थियो । छानबिन समितिको प्रतिवेदन आएपछि खतिवडामाथि नैतिकताको विषय उठेको जानकारहरू बताउँछन् ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ अफ पिरियडमा भएको छेडखानीमा खतिवडाको समन्वयकारी भूमिकामा कमी देखिएको टिप्पणी गर्छन् ।
खतिवडाले परिमार्जित मस्यौदा समितिका सदस्यहरुलाई देखाइ सभामा पेश गर्नुपर्नेमा निश्चित व्यक्तिहरुको अनौपचारिक बैठक बसी प्रतिवेदन पठाइएको पाइएको छ ।
खतिवडाले राजनीतिक र नैतिक भूमिका निर्वाह गर्न नसकनेको छानबिन समितिको निश्कर्ष छ । यो भनेको खतिवडाले पनि यसमा गम्भीर त्रुटि गरेको भन्ने स्पष्ट बुझिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खतिवडाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । कुलिङ अफ पिरियडमा गरिएको गडबडीप्रति क्षमा याचना गर्दै पदबाट राजीनामा दिनु उपयुक्त हुने रास्वपाका निष्कर्ष छ ।
सुरुदेखि नै कुलिङ अफ पिरियड’ को विपक्षमा रहेको मुख्यसचिव अर्यालले समेत यो प्रावधान हटाउनको लागि अनावश्यक लविङ गरेको समितिको निष्कर्ष छ । समितिले अर्याल र सचिव दुराले पदीय आचरणअनुसार काम नगरेको भनेर किटान गरेको छ ।
‘राज्यव्यवस्था परामर्श समितिका कर्मचारी, विज्ञहरूसँग छलफल गर्दा पनि सभापति खतिवडाको कार्यशैली रहस्यमय देखिएको र उनले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेकै कै हो’, माओवादी केन्द्रका संसाद माधव सापकोटाले भने ।
त्यसैले खतिवडाले गल्ती गरेको कारण नै उनको पदमाथि खतराको घण्टी बजिसकेको छ । तर, उनी राजीनामा दिने पक्षमा भने छैनन् ।




प्रतिक्रिया