काठमाण्डु – रिलिजको तेस्रो हप्तामा चलिरहेको चलचित्र ‘रमिताको पिरती’ कानुनी झमेलामा फसेको छ ।
शुक्रबार उच्च अदालत पाटनमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएसँगै फिल्म विवादको केन्द्रमा पुगेको हो ।
अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार चलचित्रको प्रदर्शन रोक्न माग गर्दै निवेदन दर्ता भइसकेको छ ।
अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश माग गर्दै मुद्दा हालेका हुन् । रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ ।
निवेदनमा उल्लेख भएअनुसार चलचित्रले पुरुष समुदायप्रति घृणा र वितृष्णा फैलाउने कथावस्तु प्रस्तुत गरेको छ । चलचित्रले लैंगिक विभेदलाई बढावा दिने र सामाजिक सद्भाव बिगार्ने आशय राखिएको भन्दै प्रदर्शन रोक्न अदालतको ढोका ढक्ढक्याइएको छ ।
निवेदनमा चलचित्र विकास बोर्डलाई पनि विपक्षी बनाइएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल विषयवस्तुलाई निर्माण अनुमति दिएको तथा सेन्सर बोर्डले पर्याप्त मूल्यांकन नगरी प्रदर्शन अनुमति दिएको आरोप समेत रिटमा उल्लेख गरिएको छ ।
अब प्रश्न उठेको छ, अदालतले फिल्म रोक्ने आदेश दिन्छ कि ‘रमिताको पिरती’ विवादबिचै पर्दामा चलिरहन्छ । फिल्म गत माघ २३ गतेदेखि प्रदर्शनरत छ ।




प्रतिक्रिया