रमजानमा भोक र तिर्खा कम लाग्न के खाने ?

रमजानमा भोक र तिर्खा कम लाग्न के खाने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्वभरिका लाखौँ मुस्लिमले इस्लामिक पात्रोको सबैभन्दा पवित्र महिना रमजानको एक महिना लामो व्रत शुरू भइसकेको छ ।

पैगम्बर मुहम्मदमाथि इस्लाम धर्मावलम्बीहरूको पवित्र ग्रन्थ कुरान अवतरण गरिएको महिना रमजान हो ।

रोजा अर्थात् व्रत एक महिनासम्म बसिन्छ जुन इस्लाम धर्मको पाँच आधार स्तम्भमध्ये एक हो । रमजानभरि मुस्लिमकहरूले सूर्योदय हुन अघिदेखि सूर्यास्त नभएसम्म निर्जल र निराहार व्रत बस्छन् ।

व्रत शुरू हुनुअघि खाइने खानालाई सुहूर अथवा सेहरी भनिन्छ भने व्रत सकिनासाथ साँझ खाइने खानालाई इफ्तार अथवा फितूर भनिन्छ ।

राम्रो स्वास्थ्य अवस्था भएका बालिग महिला र पुरुषहरूले व्रत बस्नुपर्ने हुन्छ– बिरामी, बालबालिका, गर्भवती, सुत्केरी, महिनावारीको अवस्थामा महिला र यात्रीलाई छुट हुन्छ ।

कतिपय मानिसलाई रमजानको व्रत गाह्रो नलाग्न पनि सक्छ । तर दैनिक कामकाज लगायतका गतिविधिमा संलग्न हुने मानिसहरूका लागि चुनौतीपूर्ण हुन सक्छ ।

उसो भए महिनाभरिको व्रतका क्रममा भोक र तिर्खालाई पन्छाउन तपाईँले के कस्ता खाना खानुपर्छ त?

सुहूरमा के खाने?

सुहूर दिनभरिको व्रतका लागि एउटा तयारी भएको हिसाबले खानाप्रति रुचि घटाउन उपयुक्त कुरा खाने र पिउने गर्नुपर्छ ।

रमजानमा शरीरलाई दिनभरि चाहिने ऊर्जाका निम्ति पर्याप्त प्रोटीन, कार्बोहाइड्रेट, भिटामिन र खनिज भएका खानेकुरा खानुपर्छ । साथै पर्याप्त पानी पिएको पनि सुनिश्चित गर्नुपर्छ ।

यसका साथै सूर्योदयअघि चीजजस्ता दुग्धजन्य उत्पादन र अण्डा, गोलभेँडा, काँक्रो नस्ता ताजा तरकारीहरू खान सकिन्छ । त्यसबाहेक सुप, जैतुनको तेलमा पकाइएका तरकारीहरू र फलफुलहरू खानु पर्ने पोषणविद्हरूको सुझाव छ । सुहूरका बेला जटिल कार्बोहाइड्रेट खानु उपयुक्त हुने उनीहरूको भनाइ छ ।

खास गरी प्रशोधन नगरिएका अन्नबाट तयार गरिएका खानेकुरा खाएपछि त्यसले शरीरलाई दिनभरि चाहिने पर्याप्त ऊर्जा पुर्‍याउन सक्छन् ।

केही अध्ययनहरूले गेडागुडी, केराउ लगायतका दलहनबाट प्राप्त हुने फाइबारले पनि शरीरलाई भरथेग भएको अनुभूति ३० प्रतिशतभन्दा बढीले गराउन सक्ने देखाएका छन् ।

साथै पर्याप्त मात्रामा पिउने कुरा पनि पिउनुपर्ने हुन्छ ताकि व्रतका बेला शरीरलाई चाहिने तरल पदार्थ पुगोस् । तर नुनिला खानेकुराले तिर्खा लगाउन सक्छ जसबाट बच्नु पर्छ ।

सुहूरमा क्याफिन सेवनबाट बच्न विज्ञहरू सुझाउँछन् । शरीरमा पानीको मात्रा कम हुन नदिन इफ्तर र सुहूरको बीचको समयमा दुईदेखि तीन लिटर पानी पिउन पनि उनीहरू सुझाव दिन्छन् ।

व्रत टुङ्ग्याउने बेला अर्थात् इफ्तारका बेला सामान्यतया पर्याप्त झोलिलो पदार्थ र प्राकृतिक गुलियो पाइने खानेकुरा खान सुझाव दिइन्छ ।

जसमा खजुर पनि हुन सक्छ । किनकी यो पैगम्बर मुहम्मदको पालादेखि इफ्तारमा खाने चलन रहिआएको छ । खजुर र पानीले व्रत टुङ्ग्याउनु राम्रो तरिका हो । त्यसबाट ऊर्जा प्राप्त हुन्छ र शरीरमा पानीको मात्रा पर्याप्त हुन्छ ।

सुपले पनि व्रत टुङ्ग्याउनु उपयुक्त हुन सक्छ । त्यसमा हुने गेडागुडी, तरकारी लगायतले शरीरलाई पोषण र फाइबर प्राप्त हुन्छ । दिनभरि भोको पेटमा बसेको पृष्ठभूमिमा इफ्तारमा गरिष्ठ खाना खानबाट बच्नुपर्छ । गरिष्ठ खाना खाएपछि थकित, अल्छी र बिसन्चो भएको महसुस हुन सक्छ ।

दिनभरिको व्रत टुङ्ग्याएपछि संस्कृति र परम्परा अनुसार इफ्तार भोजन फरकफरक हुने गर्छ । तर सामान्यतया त्यसमा विभिन्न परिकारहरू हुन्छन् । आफ्नो भोजनमा फाइबरदेखि, प्रोटीन लगायतका तत्त्व पाइने कुरा रहेको सुनिश्चित गर्नुपर्छ । शरीरको तौल बढ्न सक्ने जोखिम हुने भएकोले धेरै गुलियो खानबाट बच्न विज्ञहरू सुझाउँछन् । कतिपय पोषणविद्हरू एकैचोटि धेरै मात्रामा खानुभन्दा इफ्तार भोजनलाई दुई हिस्सामा बाँड्न पनि सुझाउँछन् ।

त्यसो गर्दा रगतमा ग्लुकोजको मात्रालाई सन्तुलित अवस्थामा राख्न मद्दत पुग्नुका साथै पचाउनलाई पनि सहज हुन्छ ।

सामान्यतया व्रतले स्वास्थ्यलाई फाइदा पुर्‍याउने गर्छ । पछिल्लो समय तौल घटाउन इन्टरमिटेन्ट फास्टिङ अर्थात् ८ घण्टा खाने १६ घण्टा पेट खाली राख्ने प्रचलन लोकप्रिय हुँदै गएको छ ।

के खाने भन्ने कुरामा भन्दा कति बेला खाने भन्ने कुरामा इन्टरमिटेन्ट फास्टिङ केन्द्रित हुन्छ । इन्टरमिटेन्ट फास्टिङमा हरेक दिन निश्चित घण्टा खाना खाइँदैन ।

द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा हालै प्रकाशित रमजानको व्रतसँग जोडिएको एउटा अध्ययनले मेटाबोलिक परिवर्तन तथा दीर्घरोगको जोखिम घटाउनमा सहयोग हुने देखाएको छ । रमजानको व्रतले फोक्सो, कोलोरेक्टल र ब्रेस्ट क्यान्सरको जोखिमलाई उल्लेख्य रूपमा घटाएको उक्त अध्ययनको निष्कर्ष छ ।