काठमाण्डु– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम आलम मियाँ पक्राउ परेका छद्धन् ।
प्रहरीले मियाँलाई अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा सोमबार सप्तरीको राजविराजबाट पक्राउ गरेको हो ।
महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्ने २७ वर्षीय मियाँलाई श्रममन्त्री यादवले निजी सचिवालय नियुक्त गरेर चालक राखेका थिए ।
सप्तरी प्रहरीका डिएसपी डम्बरबहादुर पुरीले पीडितको जाहेरीका आधारमा मियाँ पक्राउ परेको पुष्टि गरे । जाहेरीमा मुस्तकिम मियाँसहितका व्यक्तिहरूले पीडितलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको उल्लेख छ ।
प्रहरीका अनुसार मियाँसहितको एक समूहले पीडितमाथि निर्घात कुटपिट गर्नुका साथै कपडा खोल्न लगाएर नग्न बनाई भिडियोसमेत बनाएको खुलेको छ ।
सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पुरीले घटनामा संलग्न अन्यको खोजी जारी रहेको बताए ।




प्रतिक्रिया