वाग्ले र बाबुरामलाई लक्षित गर्दै झाँक्रीको कटाक्ष, ‘नेपाली स्वाभिमान कमजोर पार्ने प्रवृत्ति स्वीकारिरहने?’

वाग्ले र बाबुरामलाई लक्षित गर्दै झाँक्रीको कटाक्ष, ‘नेपाली स्वाभिमान कमजोर पार्ने प्रवृत्ति स्वीकारिरहने?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै राष्ट्रिय स्वाभिमान र आत्मसम्मानबारे प्रश्न उठाएकी छन्।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति राजनीतिक वृत्तमा आलोचना भइरहेका बेला झाँक्रीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी हुन्।

उनले भट्टराईको राजनीतिक भूमिकामाथि पनि प्रश्न उठाउँदै राष्ट्रिय स्वाभिमान कमजोर पार्ने प्रवृत्तिलाई चुपचाप स्वीकार गर्ने कि नगर्ने भन्दै प्रश्न गरेकी छन्।

झाँक्रीले पूर्वप्रधानमन्त्री भट्टराईलाई संकेत गर्दै आफूले निर्माण गरेको संविधान जारी भएपछि आफ्नै घर छाडेको प्रसंग उल्लेख गरेकी छन्।

‘नेपालका एकजना डाक्टर नेता लामो समयदेखि निरन्तर नेपालविरोधी गतिविधिमा संलग्न थिए। जो आफैँले निर्माण गरेको संविधान जारी भएपछि आफ्नै घरै छोडे, जबकि ७७ र ७ को प्रस्ताव उनकै थियो। यी अंकले के कुराको संकेत गर्छन् भन्नेबारे विभिन्न षड्यन्त्रका सिद्धान्तहरूले आ-आफ्नै व्याख्या गर्छन्,’ उनले फेसबुकमा लेखेकी छन्।

त्यसपछि उनले अर्थमन्त्री वाग्लेतर्फ संकेत गर्दै अर्को ‘डाक्टर पात्र’ को उदय भएको टिप्पणी गरेकी छन्। उनका अनुसार वाग्लेका अभिव्यक्तिमा नेपाली स्वाभिमानविरोधी र हीनभावना झल्किने गरेको छ।

‘फेरि अर्का डाक्टर पात्र खडा भएका छन्, जसले निरन्तर नेपालविरोधी, नेपाली स्वाभिमानविरोधी र हीनभावना झल्किने अभिव्यक्ति दिइरहेका छन्,’ झाँक्रीले लेखेकी छन्।

उनले वाग्लेको विगतका अभिव्यक्ति र राजनीतिक भूमिकाको समीक्षा गर्नुपर्ने आशयसमेत व्यक्त गरेकी छन्। ‘उनका ट्र्याक रेकर्डहरू हेरौँ, उनले कहाँ, कहिले र के बोलिरहेका छन् भन्ने कुरा केलाउँदै जाऔँ,’ उनको भनाइ छ।

झाँक्रीको प्रश्न

राजनीतिक वृत्तमा यस्ता थप पात्र देखिन सक्ने भन्दै झाँक्रीले नेपाली नागरिकको राष्ट्रिय स्वाभिमान र आत्मविश्वासबारे प्रश्न उठाएकी छन्।

‘के हामी नेपाल र नेपाली यस्तै गुलाम, लम्पसारवादी पात्रहरूद्वारा शासित हुन अभिशप्त छौँ? के नेपाली स्वाभिमानमाथि प्रश्न उठाउने र राष्ट्रिय आत्मविश्वास कमजोर पार्ने प्रवृत्तिलाई हामीले चुपचाप स्वीकार गरिरहने हो?’ उनले प्रश्न गरेकी छन्।

भारतमा वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि यसअघि आपत्ति जनाएका थिए।

ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले नेपालको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने र नेपाल–भारत सम्बन्धका समस्यालाई राष्ट्रिय हितको दृष्टिकोणबाट उठाउनुपर्ने बताएका थिए।

यसरी वाग्लेको अभिव्यक्तिलाई लिएर एमाले नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। उनीहरूको आलोचनाको केन्द्रमा भारतसँगको सम्बन्ध, नेपालको राष्ट्रिय स्वाभिमान र सरकारी पदाधिकारीले विदेशमा व्यक्त गर्ने राजनीतिक धारणाको विषय रहेको छ।