मुखमा कालो टेप टासेर ड्यासमा पुगेकी झाक्रीले भनिन्ः ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ

मुखमा कालो टेप टासेर ड्यासमा पुगेकी झाक्रीले भनिन्ः ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ


काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले केहि दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको विवादित अभिव्यक्तिबारे स्पष्टिकरण दिएकी छन् ।

संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले राजधानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टिकरण दिएकी हुन् ।

आतमा कालो पट्टि र मुखमा कालो टेप टाँसेर ड्यासमा बोल्न पुगेकी उनले बोल्नका लागी आफुहरु जन्मिएको भन्दै ओलीको प्यादा बन्ने जो–कसैको विरोध गर्ने बताइन् ।

‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्, ‘बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं । प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि विभाजित भएको प्रचण्ड–नेपाल समूहले ओलीको कदमको विरोध गर्दै आइरहेको छ ।

कार्यक्रममा सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन् ।

केही दिनअघि झाँक्रीले गोरखा पुगेर संसद विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई शितलनिवासबाट निस्केर बालकोट जान भनेकी थिइन् ।